रुस-युक्रेन द्वन्द्व : सरकार र एनआरएनएबीच उच्चस्तरीय संयन्त्र गठन

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

युद्धको चपेटामा परेका नेपालीको उद्धारका लागि सरकार र एनआरएनएबीच उच्चस्तरीय संयन्त्र गठन भएको छ । युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार र सहयोगको लागि जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएकाे हाे।

विगत केही दिनदेखि जारी रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न  शनिबार भर्चुअल माध्यमबाट एक अन्तर्क्रिया भएको थियो । गैरआवासीय नेपाली संघको आयोजनामा भएको साेही अन्तर्क्रियामा युद्धको चपेटमा परेका नेपालीको उद्धारका लागि समिति गठन गर्ने निर्णय भएको हो । 

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरूसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् । यस्तै, सो समितिको सदस्यसचिवमा डा. चिरञ्जीवी  खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्यान्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद सिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हंगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (युके) रहेका छन् ।  यस्तै, द्वन्द्व पीडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमितिसमेत  गठन गरिएको  छ ।  

२२० जना नेपाली दूतावासको सम्पर्कमा

उक्त अन्तर्क्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदूत  खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित दुई सय २० जना नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिए । उनले ती नेपालीको सहयोगका लागि दूतावासले नेपाल सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

सुझावित समाचार