सर्लाहीको हरिवनमा रहेको मंगलम डेरी एन्ड फुड इन्डस्ट्रिजले परीक्षण उत्पादन सुरु गरेको छ । हरिवन नगरपालिका–९, नयाँरोडमा रहेको उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो ।
करिब १० करोड लगानीमा स्थापना भएको उद्योग यस प्रदेशमै क्षमता, प्रविधि र उत्पादनको हिसाबले ठूलो हुने सञ्चालक राघोप्रसाद सिंहले बताए । ‘यस क्षेत्रका किसानको दूधको बजार सुनिश्चित गर्नु उद्योगको लक्ष्य हो,’ उनले भने, ‘दूधजन्य परिकार हामी गाउँ गाउँमा पुर्याउनेछौँ ।’
उद्योग सञ्चालक सिंहका अनुसार ठूलो लगानीमा तयार भएको यस उद्योगले अत्याधुनिक प्रविधिको प्रयोगबाट गुणस्तरीय दूधजन्य पदार्थ उत्पादन गर्नेछ । उद्योगको दैनिक १६ हजार लिटरसम्म दूध खपत गरेर विभिन्न परिकार तयार गर्न सक्ने क्षमता रहेको उद्योगका प्रबन्ध निर्देशक सबल सिंहले बताए । प्रबन्ध निर्देशक सिंहका अनुसार यस उद्योगबाट उत्पादन भएका परिकार स्थानीय बजारदेखि विदेशसम्म निर्यात गरिनेछ ।
विशेषगरी उद्योगबाट उत्पादन भएका छुर्पी अमेरिकासम्म निर्यात गर्ने उद्योगको लक्ष्य छ । उद्योगबाट पोका दूध, दही, घ्यू, पनिर, नौनी, खुवा, आइसक्रिम, कुल्फी, दूधबाट उत्पादन हुने मिठाई, चकलेटलगायतका परिकार उत्पादन गर्ने योजना रहेको छ । उद्योगका लागि आवश्यक दूध सर्लाहीसहित रौतहट, महोतरी र धनुषासम्मका किसानहरूबाट संकलन गर्ने उद्योगको योजना छ ।
उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिंहले बताए । उद्योगको शुक्रबार एक समारोहबीच स्थानीय वयोवृद्ध बबरजंग थापाले उद्घाटन गरेकाे उद्योग सञ्चालक सिंहले जानकारी दिए । स्थानीयस्तरमा ठूलो दुग्ध उद्योग सञ्चालनमा आएको भन्दै स्थानीय दूध उत्पादक किसानसमेत हर्षित भएका छन् । उद्योगबाट प्रत्यक्ष ३० जना र अप्रत्यक्ष १ सय ५० बढीको रोजगारी सुनिश्चित हुने उद्योग प्रशासनले जनाएको छ ।