व्यंग्यकार लुइँटेललाई भैरव पुरस्कार

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली साहित्यका प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारहरू शुक्रबार वितरण गरिएको छ । भैरव पुरस्कार गुठीले शुक्रबार भैरव पुरस्कार व्यंग्यकार नरनाथ लुँइटेललाई दिएको हो । गुठीका अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार रोचक घिमिरेले लुइँटेललाई पुरस्कार प्रदान गरेका हुन् । यो पुरस्कारको धनराशि एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । 

पहिलोपटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको छ । यो पुरस्कारको धनराशि पनि एक लाख एक हजार एक सय सय ११ रुपैयाँ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, संगीत र पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिलाई बर्सेनि पुरस्कृत गरिने अध्यक्ष घिमिरेले बताए । 

त्यस्तै ५१ हजार एक सय ११ रुपैयाँ धनराशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको छ सोही अवसरमा सम्झना भैरव स्मृतिग्रन्थको विमोचन भएको छ । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यिक पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हास्यव्यंग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताएका छन् । 

यसैबीच गुठीको शुक्रबारै सम्पन्न साधारणसभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजित नेपाल रहेका छन् । त्यस्तै सदस्यहरूमा बद्री अर्याल, रश्मि शर्मा, गोपाल बराल, प्राध्यापक डाक्टर दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् । 

सुझावित समाचार