कांग्रेससँग सहकार्यका लागि एमालेका पुरानै सर्त

शनिबार, १४ फागुन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना पूर्ववत् सर्तहरू पूरा भए एमसिसीमा अनिर्णीत नबस्ने र परिपक्व निकास दिने बताएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा सर्त दोहोर्‍याएका छन् ।

एमालेले माधव नेपालसहितका १४ सांसदमाथि कारबाही वा सभामुख अग्नि सापकोटालाई हटाउन तयार भए कांग्रेससँग सहकार्य हुने स्पष्ट पारेको छ । तर, सर्त पूरा गर्न नसके अर्ली इलेक्सनमा जान प्रधानमन्त्री देउवालाई एमालेको प्रस्ताव छ । अहिलेको संसद् केही नेताको बन्धक बनेको र काम गर्न नसक्ने एमालेको निष्कर्ष छ । शुक्रबार साँझ प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष ओलीबीच बालकोटस्थित ओलीनिवासमा संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको एमसिसी सबैको सहमतिमा पारित गर्नेबारे छलफल भएको बैठकपछि नेताहरूले बताएका छन् । प्रधानमन्त्री देउवाले एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गर्न गरेको प्रस्तावमा ओलीले आफ्ना सर्त राखेका हुन् । 

स्रोतका अनुसार सहकार्यका लागि समझदारी बने एमालेले सरकारमा सहभागी नभई बाहिरैबाट सहयोग गर्ने बताएको छ । आफूहरूले वर्तमान सरकारलाई ‘परमादेशी सरकार’ भनिरहेकाले सहभागी हुन नैतिक रुपमा गाह्रो हुने एमाले नेताहरूको भनाई छ । तर, तीनवटा प्रदेश सरकारहरूमा भने आफ्नो दाबी रहने एमालेले जनाएको स्रोतको भनाइ छ । यस विषयमा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र कांग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहकार्य भए प्रदेश सरकारहरूको गृहकार्य गरिरहेका छन् । दुई पार्टीका नेताहरूबीच मिलेर जाने विषयमा छलफल भए पनि बुँदागत छलफल नभएको स्रोतको भनाइ छ । 

एमाले अध्यक्ष ओलीले माओवादीबाट आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको दाबी पनि प्रधानमन्त्री देउवासमक्ष गरे । उनले दुईपटक यस्तो भनेका स्रोतको भनाइ छ । तर, प्रधानमन्त्रीसँगको छलफलमा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग सरकारका विषयमा कुनै कुरा नै नभएको बताएका थिए ।

ओलीसँगको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रिय हितका लागि एमसिसीलाई सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेको बताए । ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । तर, प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्‍यो भन्नुभएको छ, वातावरण भयो भने हामी निर्णय गर्छौँ भन्नुभयो,’ कार्कीले भने । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरूका माग सम्बोधन भए एमाले एमसिसीमा स्पष्ट हुने जानकारी दिएको बताए । ‘एमाले एमसिसीबारे अनिर्णीत रहन्न । स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले सदनमा छलफल गर्ने वातावरण बनाउनुपर्‍यो,’ भेटवार्तापछि एमाले उपमहासचिव ज्ञवालीले भने ।

मन्त्री कार्कीका अनुसार बैठकमा एमाले अध्यक्षले अहिलेको समयमा लोकतान्त्रिक मूल्य–मान्यता बोकेका शक्तिहरू कांग्रेस–एमाले एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको बताए । ‘हामीले धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौँ, लोकतन्त्रको यात्राका हामी सहयात्री हौँ, लोकतान्त्रिक मूल्य–मान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौँ,’ ओलीको भनाइ उद्धृत गर्दै कार्कीले भने । 

एमालेका उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीचमा आधारभूत विषयमा समझदारी हुनुपर्नेबारे छलफल भएको बताए । एमालेलाई संसद्मा प्रवेश गरेर आफ्नो कुरा राख्ने वातावरण सरकारले बनाउनुपर्ने र संसद्मा एमालेले राखेको नाराको माग पूरा गर्नुपर्ने एमालेको धारणा यथावतै रहेको उनको भनाइ छ । कांग्रेस ‘अर्ली इलेक्सन’मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ । 

छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।

सुझावित समाचार