‘एस–नो’मै भएको थियो देउवा–प्रचण्ड भेट

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डसँग बिहीबार भएको भेटवार्तामा ‘एस–नो’मै छलफलपछि प्रधानमन्त्री निर्णायक रूपमा एमालेसँग सहकार्यको निष्कर्षमा पुगेका हुन् । नेताहरूका अनुसार देउवा र प्रचण्डबीच भएको छलफलमा एमसिसी पारित गर्ने विषयमा सिंगो गठबन्धन एक ठाउँमा नउभिए सँगै रहनुको औचित्य नहुने निष्कर्ष निस्केको थियो । 

‘प्रधानमन्त्रीसँग हामी करिब बिदा नै भएको भन्दा पनि हुन्छ । अध्यक्ष प्रचण्डसँग देउवाजीले एमसिसीलाई छिटो प्रक्रियामा लिनुपर्ने र त्यसमा भोट हाल्न सघाउनुहोस्, नभए सँगै बस्न गाह्रो भयो भनेर भन्नुभएको रहेछ,’ ती नेताले प्रचण्ड र देउवाबीच भएको भेटबारे नयाँ पत्रिकालाई भने, ‘अध्यक्षले पार्टीले संस्थागत निर्णय नै गरिसकेकाले एमसिसीको पक्षमा उभिन नसक्ने कुरा दोहो¥याउनुभएको छ । त्यसपछि प्रचण्डले देउवाजीलाई उहाँका विकल्पमा अघि बढ्न सक्ने भनेर निस्किनुभएको हो ।’

प्रचण्डले पास वा फेल जे भए पनि प्रक्रियामा लैजाऊँ भन्दा पनि देउवाले पारित हुने सुनिश्चितता खोजेसँगै गठबन्धनको यात्रा टुंगिने करिब निश्चित भएको ती नेताले बताए । देउवाले प्रचण्डसँग आफू एमसिसी जसरी पनि पारित गर्नुपर्ने ‘ठूलो प्रेसर’मा भएको भन्दै गठबन्धनमा सँगै रहने गरी सहयोग गर्न अनुरोध गरेका थिए । 

देउवाले प्रचण्डलाई पक्षमा भोट हाल्न नसक्ने अवस्था भए संसद् बैठकमा अनुपस्थित हुने विकल्पमा सोच्नसमेत भनेका थिए । त्यसमा प्रचण्डले एमसिसीको पक्षमा मतदान गर्न असम्भव हुने र अनुपस्थित हुने कुरा पनि स्वाभाविक नहुने भनेर जवाफ दिएपछि देउवाले गठबन्धनमा अरूलाई ल्याउन बाटो खोल्न आग्रह गरेका थिए । 

प्रचण्डले गठबन्धन जोगाएरै अगाडि जान एमसिसीलाई केही समय पछाडि टुंग्याउने गरी सार्ने विकल्पमा सोच्नसमेत भनेका थिए । तर, देउवा तयार भएनन् । देउवाले एमसिसी पास नभए सरकार छोड्ने मनस्थितिमा रहेकोसमेत बताएका थिए । ‘अब एमसिसीलाई प्रक्रियामा लैजाने र आ–आफ्नो तरिकाले अघि बढ्ने गरी ‘असहमतिमा सहमति’ भयो भनौँ,’ ती नेताले भने । 

ती नेताले बिहीबार बिहान देउवा र प्रचण्डबीच भएको भेट गठबन्धनका तर्फबाट अन्तिमजस्तै भएको बताए । भेटपछि प्रधानमन्त्री देउवा प्रचण्डलाई बिदा गर्न गाडीसम्मै आएको भन्दै उनले त्यसलाई आफूहरूले गठबन्धनभित्रको अन्तिम र सौहार्दपूर्ण भेटका रूपमा लिएको बताए ।

त्यसपछि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र झलनाथ खनालसँग छलफल गरेका थिए । नेपाल र खनालसँग प्रचण्डले देउवासँग भएको छलफलबारे जानकारी गराएका थए । साथै, एमसिसीका विषयमा आफ्ना धारणालाई कायम राख्ने र विपक्षमा मत हाल्ने भन्ने विषयमा छलफल भएको थियो । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार एकीकृत समाजवादी र माओवादी केन्द्रले पहिल्यैदेखि तय गरेको लाइनमा अडिग रहने विषयमा कुरा भएको थियो । ‘कांग्रेसले नमानेको अवस्थामा हामी हाम्रो पोजिसनमा क्लियर रहनुपर्छ भन्ने विषयमा कुराकानी भएको हो,’ मल्लले भने, ‘त्यसमा उहाँहरू र हाम्राबीच भएको पुरानै बुझाइलाई कायम राख्ने भनेर छलफल भएको हो ।’

त्यसपछि प्रचण्डले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए । संसद् भवन बानेश्वरमा भएको छलफलमा प्रचण्डले एमसिसीको विषयमा एमाले र माओवादी एक ठाउँमा उभिनुपर्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच केही समय एक्लाएक्लै छलफल भएको थियो ।

छलफलमा अध्यक्ष प्रचण्डले एमसिसी सदनबाट अस्वीकृत गर्न एमाले र माओवादी एक ठाउँमा उभिनुपर्ने प्रस्ताव गरेको माओवादी प्रमुख सचेतक देव गुरुङले बताए । प्रचण्डले एमालेलाई सदनको गतिरोध हटाउन पनि अनुरोध गरेका थिए । छलफलमा ओलीले प्रचण्डसँग तीन सर्त अघि सारेको गुरुङले बताए । उनले विगतमा फर्किएरसमेत सर्त अघि राखेका छन् ।

ओलीले आफूहरू अहिलेको प्रक्रियामा सहभागी नभएको भन्दै एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्नुपर्ने बताएका थिए । त्यसो नगर्ने हो भने सभामुखले मार्गप्रशस्त गर्नुपर्ने ओलीको सर्त छ । उनले तत्कालीन नेकपा हुँदाको समयमा प्रचण्डले बनाएको १९ पृष्ठको दस्ताबेज खारेज गर्नसमेत भनेका थिए । उक्त १९ पृष्ठको पत्रलाई ओलीले आरोपपत्र भन्दै आएका छन् ।

अहिलेको प्रक्रियामा आफूहरू सहभागी नभएकाले एमसिसीको विषयमा ‘एस वा नो’ नभन्ने ओलीले बताएका थिए । प्रचण्डले फरक बुझाइहरूबारे छलफल गर्दै एमसिसीमा एक मत गर्न प्रस्ताव गरेका थिए ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरूबीच सकारात्मक छलफल भएको भन्दै एमसिसीबारे एमालेले उपयुक्त समयमा धारणा सार्वजनिक गर्ने बताए । भेटमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी थिए । माओवादी नेताहरूसँगको छलफल सकिएलगत्तै अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

२३ फागुन ०७७ मा सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा विभाजित बनेपछि प्रचण्डले अलग्गै पहिलोपटक ओलीसँग भेटवार्ता गरेका हुन् । भेटपछि एमाले उपाध्यक्ष नेम्वाङले माओवादी केन्द्रसँग एमसिसी, राष्ट्रिय विषय र संसद्को गतिरोध हटाउनेलगायत विषयमा समीक्षात्मक छलफल भएको बताए । 

‘कमरेड प्रचण्डहरूसँग सकारात्मक छलफल भयो र त्यसलाई निरन्तरता दिने कुरा भयो,’ नेम्वाङले भने, ‘विगतका कुराहरूदेखि अहिलेसम्मका समीक्षा पनि भएका छन्, तर अहिले नै निष्कर्षमा पुगिएको छैन ।’ 

सुझावित समाचार