टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल तेस्रो

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा तेस्रो भएको छ । बिहीबार तेस्रो स्थानका लागि सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानमाथि नौ विकेटको जित निकाली तेस्रो स्थान हात पार्दैै विश्वकप छनोट यात्रा समाप्त गरेको छ । पहिलो ब्याटिङ गरेको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ८७ रनको झिनो योगफल बनायो । प्रत्युत्तरमा नेपालले १६.२ ओभरमा एक विकेट मात्र गुमाएर नौ विकेटको सानदार जित निकाल्यो । दुई साताको भ्रमणमा ओमानलाई तेस्रोपटक हराउने क्रममा नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुका साथै कुशल भुर्तेलले ५५ रनका अर्धशतकीय इनिङ्स खेलेका थिए । 

नेपालले चारदेशीय टी–२० सिरिज तथा विश्वकप छनोटको समूह बीमा ओमानलाई हराएको थियो । टी– २० विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपबाट वञ्चित भएको थियो । नेपाल समूह बीबाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई एक सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो । 

आइसिसी विश्वकप लिग–२ हुनेछ । नेपालले मार्चको दोस्रो सातादेखि युएईमा सुरु हुने पपुवा न्युगिनी त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले पपुवा न्युगिनीसँग १६ मार्चमा खेल्नेछ । 

कुशलले तोडे पारसको रेकर्ड
आइसिसी टी–२० ब्याटिङ वरीयताको ३९औँ स्थानमा उक्लेका नेपालका कुशलले अन्तर्राष्ट्रिय टी–२० मा पूर्वकप्तान पारस खड्काको नाममा रहेको धेरै अर्धशतक बनाउने कीर्तिमान तोडेका छन् । ओमानविरुद्ध ५५ रनको योगदान दिएसँगै कुशलले नेपाली टोलीबाट सर्वाधिक पाँच अर्धशतक बनाउने नयाँ कीर्तिमान राखेका छन् । पारसको नाममा चार अन्तर्राष्ट्रिय अर्धशतक रहेको छ । कुशलले आफ्नो कीर्तिमानी इनिङ्समा ५३ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । चालू प्रतियोगितामा कुशलले एक शतकीय इनिङ्ससँगै दुई सय पाँच रन बनाएका छन् । उनी ग्लोबल छनोटमा धेरै रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन् । 

सन् २०२१ मा नेदरल्यान्ड्सविरुद्ध टी–२० खेलमा डेब्यु गरेका कुशलले ११ इनिङ्समा चार सय ९८ रन बनाएका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा ४६ चौका र २० छक्का प्रहार गरेका छन् । करिअरको पहिलो शतकका रूपमा कुशलले फिलिपिन्सविरुद्ध ग्लोबल छनोटमै एक सय चार रन बनाएका थिए । नेपालका लागि अन्तर्राष्ट्रिय २० खेलमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान पारसको नाममा छ । उनले ३३ खेलमा ३२ इनिङ्सभित्र एक शतक र चार अर्धशतकका साथ सात सय ९९ रन बनाएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–२० मा सिंगापुरविरुद्ध एक सय ६ रन जोडेका थिए । 

सन्दीप दोस्रोपटक म्यान अफ दी म्याच
नेपालका कप्तान सन्दीप ग्लोबल छनोटमा दोस्रोपटक म्यान अफ दी म्याच भएका छन् । ओमानविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा सन्दीपले उत्कृष्ट बलिङ गरेका कारण नै म्यान अफ दी म्याच भएका हुन् । उनले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिए । ग्लोबल छनोटको समूह बीमा नेपालले क्यानडामाथि आठ विकेटको जित निकाल्दा सन्दीप नै म्यान अफ दी म्याच भएका थिए । यो उनको पहिलो टी–२० खेलकै म्यान अफ दी म्याच ट्रफी थियो । सो खेलमा सन्दीपले चार विकेट लिन १२ रन मात्र खर्चेका थिए । सन्दीपले ३४ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६२ विकेट लिएका छन् । सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका थिए । 

नेपालको कसिलो बलिङ
ओमानले दुई साताको अवधिमा नेपालविरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न सकेन । तीनपटककै भेटमा ओमानको फितलो ब्याटिङ भयो । नेपालका बलरले यी तीनवटै भेटमा ओमानविरुद्ध उत्कृष्ट बलिङ एट्याक्ट गरेका छन् । साथै नेपाली फिल्डिरले पनि त्यत्तिकै राम्रो फिल्डिङ गर्दा ओमानले स्कोरबोर्डमा सोचेजस्तो रन बनाउन सकेन । ओमानले पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा केवल ४२ रन मात्र जोडेको थियो । ओमानले पहिलो चार विकेट १९ रनको अवस्थामा गुमाएको थियो । सो इनिङ्समा कप्तान मक्सुदले २८ बलमा तीन चौकाको सहयोगमा २१ रन बनाए । यसैगरी आयन खानले १९ बलमा १६ रन र नसिमले १५ बलमा एक छक्का प्रहार गरी १५ रनको योगदान दिए । 

अर्धशतकीय साझेदारी
८९ रनको झिनो योगफल पछ्याएको नेपालले ओपनिङ उत्कृष्ट गर्यो । नेपालका लागि कुशल र आसिफ शेखले पहिलो विकेटका लागि ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । कुशलले आरिफ सेखसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै नेपाललाई नौ विकेटको जित दिलाए । आरिफले २७ बलमा एक चौकाको सहयोगमा २१ रन जोडे । 

युएई च्याम्पियन
ग्लोबल छनोटको फाइनलमा युएईले टेस्ट राष्ट्र आयरल्यान्डलाई सात विकेटले हराउँदै उपाधि हात पारेको छ । पहिलो ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा एक सय ५९ रनमा अलआउट भयो । आयरल्यान्डविरुद्ध जाहुर खान र रोहन मुस्तफाले समान तीन विकेट लिएका थिए । युएईले १८.४ ओभरमा तीन विकेट गुमाए एक सय ६० रन बनायो । युएईको जितमा ओपनर मोहमद वासिमले शतकीय इनिङ्स खेले । उनले ६६ बलमा सात चौका र ८ छक्का प्रहार गरी एक सय १२ रनको योगदान दिए । 

सुझावित समाचार