सुक्खा मौसम सुरु नहुँदै गुल्मीमा शृंखलाबद्ध आगलागी

बिहिबार, १२ फागुन, २०७८
डिजिटल संस्करण
सुक्खा मौसम सुरु नहुँदै गुल्मीमा शृंखलाबद्ध आगलागी

मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा अचानक आगलागी

मुसिकोट नगरपालिका–४ हलोगाडेका गुप्तबहादुर कार्कीको घरमा शुक्रबार राति अचानक आगलागी भयो । धनमालको क्षति भए पनि मानवीय र पशुचौपायमा क्षति भएन । तर, कार्कीको दुईतले घर पूर्ण रूपमा जल्यो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट कार्कीको ११ लाखबराबरको धनमाल जलेर नष्ट भयो । आगलागीका विषयमा परिवार अनभिज्ञ छन् । प्रहरीले समेत घटनाको मेसो पाएको छैन । ‘हामी तल्लो तलामा बस्ने भएकाले भागेर बाँच्यौ । तर, घर नष्ट भयो ।’ कार्कीले भने, ‘प्राविधिकले विद्युत् सर्ट होइन भन्छन्, कसैले रिसइबी साँधेकै जस्तो पनि लाग्दैन ।’

घटनापछि गाउँमा त्रास सिर्जना भएकाले सत्यतथ्य छानबिन गर्न कार्कीले सुरक्षा निकाय प्रहरीलाई आग्रह गरे । सोही गाउँमा केही दिनअघि एम्बुलेन्समा पनि आगलागी भएको थियो । मुसिकोट नगरपालिका–३ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागीको सत्यतथ्य बाहिर आउनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । तर, अहिलेसम्म घटनामा संलग्न पत्ता लागेका छैनन् ।

एम्बुलेन्समा आगजनी भएको केही दिनमै घरमा शंकास्पद आगलागी भएपछि नागरिकमा त्रास सिर्जना भएको मुसिकोट नगरपालिका–३ का वडासदस्य शंकर रायमाझीले बताए । ‘ एम्बुलेन्स जलेपछि दुःख मात्रै लागेन, लज्जाबोधसमेत भयो,’ उनले भने, ‘केही दिनमै घरमा पनि आगलागी भएपछि सर्वसाधारणमा भय सिर्जना भएको छ ।’ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले एम्बुलेन्स र घर आगलागीको विषयमा अनुसन्धान भइरहेको बताए । 

आगलागीका घटना 
मालिका–६ अर्जेका खिमप्रसाद र मोतीलाल भुसालको घरमा ४ मंसिर साँझ घरगोठमा एक्कासी आगलागी भयो । विपन्न दृष्टिविहीन परिवारको पशुचौपायाबाहेक केही जोगिएन । भुसाल परिवारले कैयाैँ समय बारीमा कष्टकर जीवन बिताए ।

केही समयअघि मालिका गाउँपालिका–२ दर्लिङका कुलबहादुर घर्तीको पनि दुईतले कच्ची घरमा अचानक आगलागी भयो । आगोले लत्ताकपडा र अन्नपातसहित गरेर करिब डेढ लाखसहित घर नष्ट भयो । १६ माघमा धुर्कोट गाउँपालिका–५ का बाबुराम घर्तीको घरगोठमा आगलागी भयो । लत्ताकपडा, अन्नपातसहित नगद र घरगोठ पूर्ण रूपमा जल्यो ।

सुक्खा मौसम बल्ल सुरु भएको छ । जमिन सुक्खा र हावाहुरीका कारण फागुनदेखि जेठसम्म बढी आगलागी हुने गर्छ । तर, जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/०७९ को आठ महिनामा दुई दर्जन घरगोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव खरेलले बताए । 

See More On

सुझावित समाचार