लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति
चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान आफ्नै घरअगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– २ धार्पा पुर्ख्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ३ कौशलटारमा स्थायी रूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए ।
लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले बताए । बिहानैदेखि उनको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, संगीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ ।
बिहान करिब ३ बजेतिर लामा निजी कार घरअगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको घटनास्थलमा पुगेका महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ । बा.३च ७७४१ नम्बरको कार लामा आफैँले हाँकेर घरनजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, संगीतकार, गीत संकलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील थिए । ‘कलकत्ते काइँयो केस मेरो बांगाे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हाेइन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेसम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
वि.सं. ०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरु गरेका लामाले लोकगीतको शब्द संकलन, गायन, संगीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हास्य टेलिशृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।
विभिन्न विद्यालयमा उनी संगीत गुरुका रूपमा क्रियाशील थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलीका लागि राखेर आजै उनकाे अन्तिम संस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । उनका श्रीमती र दुई छोरा छन् ।