आइआइएफटीको ‘ड्रेस टु इम्प्रेस’मा चारजनालाई उपाधि

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

डिजाइनरहरूको प्रतिस्पर्धात्मक र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’मा यसपटक चारजनाले उपाधि पाएका छन्। शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो। डिप्लोमा कोर्स पूरा गरेका एक सय ४४ डिजाइनरले सहभागिता जनाएका शोमा चारजनाले उपाधि जितेका हुन्।

इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलाेजी (आइआइएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्विन र अमृता गिरीले माउन्टेनियरिङ उपाधि पाएका छन्।

विजेता चारैजनाले आइआइएफटीको तर्फबाट नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने युएफओको तर्फबाट १० हजार रुपैयाँबराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेस क्लबको तर्फबाट ३५ हजार रुपैयाँबराबरको प्याकेज पाएका छन्।

‘ड्रेस टु इम्प्रेस’ सिजन ४ का लागि हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, फेसन डिजाइनर युबी थापा, बुटिक एसाेसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक रहेका थिए।

काठमाडौंको बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको आइआइएफटीले आफ्नो कलेजका विद्यार्थीका लागि चार वर्षअघि ‘ड्रेस टु इम्प्रेस’ सुरु गरेको आइआइएफटीका प्रबन्ध–निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठाको प्रेक्षालयमा सम्पन्न कार्यक्रमको आतिथ्य नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले गरेका थिए।

सुझावित समाचार