ट्रक पल्टिँदा ड्युटीमा रहेकी प्रहरी जवानको मृत्यु

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण

अनियन्त्रित भई ट्रक पल्टिँदा एक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शमशेरगन्जबाट नेपालगगन्जतर्फ जाँदै गरेको ना.३ख ६४३६ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर चौराहमा ड्युटीमा रहेकी प्रहरी जवान कविता बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक अनियन्त्रित भई पल्टिँदा बुढाथोकी च्यापिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । 

ठाकुरबाबा नगरपालिका– ७, बर्दियाकी बुढाथोकी इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत थिइन् । रातको करिब १० बजेको समयमा भएको दुर्घटनामा प्रहरी जवान बुढाथोकीको भे.८ब ४०६८ नम्बरको स्कुटी र भे.१०प ४६२४ नम्बरको स्कुटीसमेत पूर्ण रूपमा क्षति भएको उनले बताए ।

ट्रकचालक बबई गाउँपालिका– ६, दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक केसीसँग हलुका सवारीचालक अनुमतिपत्र मात्र भएको शाहले बताए । 
 

See More On

सुझावित समाचार