भारतीय नागरिकलाई युक्रेन छाड्न अपिल

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

रुस र युक्रेनबीच जारी तनावबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रूपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रूपमा युक्रेनबाट बाहिरिन आग्रह गरेको छ । 

‘युक्रेनमा बढ्दो अनिश्चय र तनावका कारण यहाँ बस्न आवश्यक नभएका भारतीय नागरिक र विद्यार्थीहरूलाई केही समयका लागि युक्रेन छाडेर जान अपिल गर्दछौँ,’ युक्रेनस्थित भारतीय राजदूतावासद्वारा जारी ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘समयमै कमर्सियल उडानको सुनिश्चित गरिहाल्नुहोला ।’ 

यसका लागि सहजीकरण गर्न भारतीय विदेश मन्त्रालयले हटलाइनको व्यवस्थासमेत गरेको छ । राजदूतावाससँग सम्पर्कमा रहन भारतले सबै नागरिकलाई अनुरोध गरेको छ भने सामाजिक सञ्जालमा नियमित रूपमा सूचना अवलोकन गर्न पनि भनेको छ । 

युक्रेनमा करिब २० हजारको संख्यामा भारतीय विद्यार्थी अध्ययनरत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले शान्त र सिर्जनात्मक कूटनीतिमा जोड दिँदै रुस र युक्रेनबीच वार्ताबाट समस्या समाधानमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टिएस तिरुमुर्तीले दुवै मुलुकलाई तनावपूर्ण परिस्थितिको अन्त्य गर्न आग्रह गरेका छन्। 

सुझावित समाचार