प्रजातन्त्र दिवसको अवसर पारेर स्वतन्त्रवासी समूहले बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा त्रिभुवनको सालिक पुनर्स्थापना गरेको छ । सालिक पुनर्स्थापनापछि राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिले राजाको सालिकले इतिहास झल्काए पनि जबर्जस्ती राख्ने कार्य अशोभनीय भएको बताए । उनले सर्वदलीय सहमतिपछि सालिक राखेको भए उत्तम हुने बताए । ‘सालिक राखेकोमा कसैको दुईमत छैन, तर एकपटक हटाइएको सालिक पुनः राख्दा सर्वदलीय छलफल भएको भए झनै राम्रो हुने थियो,’ उनले भने ।
कांग्रेस जिल्ला सचिव कपिलदेव शर्माले सालिक पुनस्र्थापना गर्ने प्रक्रिया गलत भएको बताए । उनले राजनीतिक दल र प्रशासनसँग समन्वय गरेर सालिक राखेको भए राम्रो हुने बताए । सालिक राखेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएकोसमेत उनले बताए । ‘एउटा समूहले एउटा नामकरण गर्ने, अर्कोले अर्को नाम राख्ने कार्य राम्रो भएन । सालिक राख्नुअघि सर्वदलीय बैठक गरेर अगाडि बढेको भए राम्रो हुने थियो,’ उनले भने, ‘कांग्रेसको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्छौं ।’
माओवादी केन्द्र बाँके अध्यक्ष आइपी खरेलले त्रिभुवन चोकमा पूर्वराजाको सालिक राख्ने कार्यले लोकतान्त्रिक व्यवस्थामाथि धावा बोलेको बताए । उनले प्रशासनको अगाडि नै त्रिभुवनको सालिक राख्न दिनु प्रहरी, प्रशासनको कमजोरी भएको बताए । उनले राजावादीहरू वर्तमान विषम परिस्थितिको फाइदा उठाएको जिकिर गरे । उनले बल प्रयोग गरेर प्रहरीले सालिक हटाउनुपर्ने धारणा राखे । ‘पूर्वराजाको सालिक राख्ने कार्य सामान्य विषय होइन । चोक–चोकमा सालिक राख्दै जाने हो भने भिडन्त निम्तिन सक्छ,’ उनले भने ।
जनता समाजवादी पार्टीका अध्यक्ष कमरुद्दिन राईले कानुनको खिल्ली उडाउँदै जबर्जस्ती तत्कालीन राजाको सालिक राख्नु ठीक नभएको बताए । उनले सर्वपक्षीय निर्णयबाट राखिने सालिक मात्र मान्य हुने धारणा राखे । रातभरमा सालिक नहटाइए आइतबार गठबन्धन दलको बैठक बसेर धारणा सार्वजनिक गरिने उनले बताए । ‘आज एउटा पार्टी र समूहले सालिक राख्ला, भोलि अर्को पार्टी गएर अर्को सालिक राख्ला । यसले राजनीतिक दलबीच भिडन्त निम्त्याउँछ । चोरबाटोबाट राख्ने कार्य स्वीकार्य हुँदैन । प्रशासनले नहटाए हामी आफैँ हटाउँछाैँ,’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवनको सालिक पुनः स्थापनालाई सामान्य रूपमा लिएको छ । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले इतिहास संरक्षणका लागि चोकमा पूर्वराजा त्रिभुवनको सालिक पुनर्स्थापना गरिएको बताए । उनले देशका अन्य विभूतिको सालिक भत्काइएको, तोडफोड भएको र नासिएको भए संरक्षण गर्न पुनर्स्थापना गर्ने पार्टीको नीति भएको बताए । ‘सालिकले इतिहास झल्काउँछ । पूर्वराजाका मात्र नभई अन्य राष्ट्रिय विभूतिको पनि सालिक पुनस्र्थापना गरी सिंगो देशको इतिहास जोगाउनुपर्छ,’ उनले भने ।
यसअघि राप्रपाले नेपालगन्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्रको सालिक पुनर्स्थापना गरेको थियो । राजनीतिक दलहरूको चर्को दबाबपछि प्रशासनले उक्त सालिक रातारात हटाएको थियो । धम्बोझी चोकमा रहेको वीरेन्द्र र त्रिभुवन चोकमा रहेको त्रिभुवनको सालिक ०६२–६३ को आन्दोलनका वेला तोडफोड भएको थियो ।