राष्ट्रिय मान्यता नपाएका दललाई पनि निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न दिन माग

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय मान्यता नपाएका दललाई पनि निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न दिन माग गर्दै ३० राजनीतिक दलले निर्वाचन आयोगसँग माग गरेका छन्। स्थानीय निर्वाचन चुनाव चिह्न संघर्ष समितिको प्रतिनिधिमण्डलले आयोगलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। 

दलका प्रतिनिधिहरूले शुक्रबार प्रमुख आयुक्त माननीय दिनेश थपलियासँग आयोगमा भेट गरी ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरिनु अन्यायपूर्ण भएको भन्दै ध्यानाकर्षण गराएका थिए। ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको तर्फबाट ऐन संशोधनका लागि आवश्यक पहल भइरहेको बताएका थिए। 

ज्ञापनपत्र बुझाउने दलहरूमा आमूल परिवर्तन मसिहा पार्टी, उन्नत लोकतन्त्र पार्टी, एकीकृत शक्ति नेपाल, गान्धीवादी पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल जनमत पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी), नेपाल आमा पार्टी, नेपाल जनता पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल सदभावना पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल सुशासन पार्टी, नेपाली कांग्रेस (बिपी), नेपाली जनता दल, बहुजन एकता पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, समाजवादी पार्टी नेपाल, सर्वदलीय संघीय परिषद् र सामाजिक लोकतान्त्रिक पार्टी रहेका छन्।

सुझावित समाचार