नेपालका आक्रामक ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले टी–२० ब्याटिङ वरीयतामा ठूलो छलाङ मारेका छन् । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले ५२औँ स्थान पाएका छन् । पहिलोपटक टी–२० ब्याटिङमा सवमोश भएका दीपेन्द्रसिंहले एकैपटक उच्च स्थान पाएका हुन् । दीपेन्द्रसिंहले चार सय ४३ रेटिङ अंक पाएका छन् । यसै साता ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनी ओमान र आयरल्यान्डविरुद्धको खेलमा म्यान अफ दी म्याचसमेत भएका थिए । दीपेन्द्रसिंहले सिरिजका तीन खेलमा १ सय ४२ रन बनाएका थिए । ओमानविरुद्ध नेपालले ६ विकेटको जित निकाल्दा उनले ७३ रनको योगदान दिएका थिए । उनले युएईविरुद्ध १ रन र आयरल्यान्डविरुद्ध २८ रन बनाएका थिए । दीपेन्द्रसिंहले टी–२० ब्याटिङ वरीयतामा पहिलोपटक समावेश हुँदा नाम चलेका क्रिकेटरलाई पछाडि पारेका छन् ।
उनले भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त, सूर्यकुमार यादव, वेस्ट इन्डिजका कप्तान किरन पोलार्ड, वेस्ट इन्डिजकै ब्रान्डन किङ, सिमरोन हेटमायर, इंग्ल्यान्डका लियाम लिभिङ्स्टोन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यू वाडेलाई वरीयतामा पछाडि पारे । टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ६५औँ स्थानमा छन् ।
यथास्थानमा रहेका कुशलले चार सय १३ अंक बटुलेका छन् । ब्याटिङ वरीयतामा पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा छन् । रिजवान सात सय ९८ अंकका साथ शीर्ष स्थानमा रहेका हुन् । टी–२० ब्याटिङ वरीयताको शीर्ष १४ स्थान परिवर्तन भएको छैन ।
सन्दीप ६३औँ स्थानमा
आइसिसीको टी–२० बलिङ वरीयतामा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ६३औँ स्थानमा रहेका छन् । चारदेशीय टी–२० क्रिकेट सिरिजमा औसत प्रदर्शन गरेका सन्दीपले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ५० विकेट पूरा गरेका थिए । उनले आयरल्यान्डविरुद्धको खेलमा एक ब्याट्सम्यानलाई आउट पार्दै टी–२० खेलमा ५० विकेटको कोसेढुंगा पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० खेलमा छिटो ५० विकेट लिने सन्दीप तेस्रो खेलाडी हुन् । टी–२० वरीयताको ६३औँ स्थानमा रहँदा सन्दीपले चार सय ३७ अंक बटुलेका छन् ।
आइसिसीद्वारा आसिफको प्रशंसा
क्रिकेटको सर्वोच्च नियका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ सेखको निकै प्रशंसा गरेका छन् । ओमानमा सोमबार भएको चारदेशीय टी–२० सिरिजअन्तर्गत नेपालले अन्तिम खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । सो खेलमा आसिफले ‘स्पोर्टस्म्यान सिप’ देखाउँदै आयरल्यान्डका ब्याट्सम्यानलाई सहज आउट पार्न सक्ने अवस्थामा समेत आउट गरेनन् ।
खेलको १९.२ ओभरमा कमलसिंह ऐरीले मार्क अडेरविरुद्ध बलिङ गरेका थिए । मार्कले रन लिने प्रयासमा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन कल गरे । एन्डी रन लिने प्रयासमा थिए । अर्कोतिर बल समात्ने क्रमम ऐरी र एन्डी एक–आपसमा ठोकिए । एन्डी क्रिजमै लडे । उनी उठेर क्रिजतर्फ जाने प्रयास गरिरहँदा कमलले बल विकेटकिपर आसिफलाई दिए ।
आसिफको ग्लोबमा बल पुग्दा एन्डी क्रिजभन्दा धेरै टाढा थिए । आसिफले एन्डीलाई रन आउट गरेनन् । उनले एन्डीलाई रन पूरा गर्न दिए । आसिफले देखाएको यही खेल भावनाको कदर गर्र्दै आइसिसीले प्रशंसा गरेको हो । आइसिसीको आधिकारिक ट्विटरमा आसिफको प्रशंसा गर्दै यस्तो लेखेको छ, ‘नेपालका विकेटकिपर आसिफ शेखले देखाएको क्रिकेटको मन छुने क्षण ।’
आइसिसीले मात्र नभएर चर्चित क्रिकेटरले समेत आसिफलाई बधाई दिँदै प्रशंसा गरेका छन् । न्युजिल्यान्डका अलराउन्डर जिमी निसमले आफ्नो ट्विटरमा सेयर गर्दै युवा खेलाडीको हौसला बढाएका छन् ।