कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी परियोजना र भ्रातृ संगठनको अधिवेशनका विषयमा छलफल भएको छ । कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा बिहीबारको बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
एमसिसी प्रक्रिया अघि बढाउन र दलहरूबीच सहमति जुटाउन सदस्यहरूले जोड दिएको महतले जानकारी दिए । कार्यव्यवस्था परामर्श समितिमा छलफल भएर एमसिसी संसद्को कार्यसूचीमा पर्ने महतको भनाइ छ ।
संसदमा प्रस्तुत भएपछि एमसिसी के गर्ने भन्नेबारे स्पष्ट हुने महतले बताए । बैठक शुक्रबार फेरि बस्ने उनले बताए । शुक्रबार सदस्यहरूले धारणा राखिसकेपछि निर्णयमा पुगिने उनले बताए ।
स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले छलफलमा प्रवेश नपाएको महतले बताए । सबै दलले क्षमता र आधारबारे मूल्यांकन गर्न बाँकी रहेको उनले बताए । कसरी निर्वाचनमा सहभागी हुँदा फाइदा हुन्छ भन्ने विषयमा छलफल गरेर निर्णयमा पुगिने उनको भनाइ छ ।