आवाजविहीनहरूको कथा बोल्ने नाटक ‘लाटीको छोरा’

बिहिबार, २७ माघ, २०७८
डिजिटल संस्करण
आवाजविहीनहरूको कथा बोल्ने नाटक ‘लाटीको छोरा’

नाटकमा अभिनय गर्दै कलाकार। तस्बिर : पुरानो घर थिएटरको फेसवुक पेजबाट

नाट्य प्रस्तुति कति शक्तिशाली हुन सक्छ भन्ने कुरा नाटक लाटीको छोराले बताउने कोसिस गरेको छ। सरसर्ती हेर्दा नाटकले अपांगता भएका (बाेल्ने शक्ति नभएका) हरूमाथि हुने विभेद र दमनको कथा भनेको छ। तर, त्यससँगै यसले बिम्बात्मक रूपमा सामाजिक संरचनाको पिँधमा पारिएकाहरूको ‘आवाज’ बोलेको छ।

तराईको परिवेशमा तयार पारिएको नाटक सुरु हुन्छ सुन्दर बजारबाट। डोम बस्ती उठाएर बजार सारिएका पात्रहरूको संवादबाट थाहा हुन्छ। शक्ति र पहुँचमा हुनेहरूको बजार बसाउन डोम समुदायलाई नै झुक्याएर सुकुमबासी बनाएका छन्। त्यसको विरोधमा आवाज उठाउने एक डोमलाई ‘वर्तमानको विकास विरोधी’ भनी दबाइन्छ।

प्लस टू पढ्ने एक युवक पुनीत बजारमा डुलिरहेकी ‘लाटी’ (बाेल्ने शक्ति नभएकी किशोरी) लाई साथमा लिएर टोलमा आउँछ। उसले किशोरीलाई पवित्रा भाउजूको शरणमा छोडेर जान्छ, जो आफैँ एकल महिला भएकोमा यौन हिंसाको सिकार भएकी हुन्छिन्। समय बित्दै जाँदा ‘लाटी’को पेट बढ्दै जान्छ। ‘लाटी’माथि भएको शोषणको सेरोफेरोमा नाटकको कथा अघि बढ्छ। ‘लाटी’माथि अन्याय गर्नेहरूले आफ्नो कुकर्म लुकाउन आफ्नो अधिकारको माग गर्ने डोमलाई सिकार बनाउँछन्।

‘जो होचो उसैको मुखमा घोचो’ भन्ने नेपाली उखानलाई नाटकले निकै कारुणिक रूपमा देखाएको छ। एउटी ‘लाटी’ (बाेल्ने शक्ति नभएकी महिला), जो बोल्न नसक्ने भएकै कारण हिंसामा परेकी छे। आवाज नभएकै कारण समाजका प्रतिष्ठित भनिने शिक्षक, व्यापारी, नेता, पण्डितलगायतले उसमाथि यौन शोषण गरेका छन्।

एकल महिलाले भोग्नुपरेको दु:ख कष्टलाई पनि नाटकले मिहिन ढंगले प्रस्तुत गरेको छ। श्रीमान् नभएकै कारण उनलाई बोक्सीको आरोप लगाइन्छ। बुद्धिजीवी भनिएकाहरूबाटै उनी पटकपटक बलात्कृत हुन्छिन् र न्यायका लागि आवाज उठाउँदा उनलाई समाजले पागल करार गरिदिन्छ। अन्यायविरुद्धको उनको आवाज ‘न्यायदाताहरूले नै दबाइदिन्छन्।

विषनाथ, मास्टर साहेब, अग्रवाल, चन्द्रकान्तजस्ता पात्रहरूमार्फत सम्भ्रान्त वर्गले कसरी सामाजिक र मानवीय अपराध गर्छन् भन्ने नाटकले सजीव ढंगले देखाएको छ। विषनाथ एक स्थानीय नेता हो, जसले आफूले आफूलाई न्यायमूर्तिको रूपमा प्रस्तुत गरिरहन्छ। उसले बारम्बार नाटकमा दोहोर्याउँछ, ‘म छु त न्याय छ, म छैन त न्याय छैन।’ उनको यो संवादले नेपाली समाजमा कानुनी व्यवस्थाको प्रकृति कस्तो छ भन्ने देखाउँछ। शक्ति र पहुँच हुनेहरूले आफूलाई कानुनभन्दा माथि राखेर कसरी अन्यायविरुद्धको आवाजलाई दबाउँछन् भन्ने यसले देखाउँछ।

पात्रका सानासाना हर्कतमार्फत नाटकमा नेता, प्रहरी, प्रशासन, ठेकेदारले गर्ने सामान्यजस्ता लाग्ने असामान्य अनियमितता देखाइएको छ। प्रहरीले उधारो खाने, ठेकेदारले अपराध गर्ने, नेताले प्रहरी प्रशासनको दुरुपयोग गर्ने र हरेक कुरालाई चुनावी अस्त्रका रूपमा प्रयोग गर्नेजस्ता प्रवृत्तिको नाटकमा विरोध गरिएको छ।

२१औँ शताब्दीको हवाला दिने समाजको चिन्तन भने अझै दरिद्र रहेकोप्रति नाटकले कटाक्ष गरेको छ। आवाज भएर पनि आँखा अगाडिको अन्यायविरुद्ध आवाज नउठाउने नाईजस्ता पात्रहरूलाई नाटकले प्रश्न गरेको छ। डोम समुदायलाई हटाएर बनाइएको सुन्दरबजारलाई समग्र नेपाली समाज मान्ने हो भने ‘सुन्दरबजार’को कुरूप कथा प्रस्तुत गर्न नाटक सफल रहेको छ भन्नु अन्यथा नहोला।

नाटकका निर्देशक तथा परिकल्पनाकार सुलक्षण भारती नाटकको पृष्ठभूमि तराई परिवेशमा आधारित भए पनि यसको कथा नेपाली समाज र राज्य व्यवस्थाको झलक हो भन्छन्। ‘यो नाटक भुईंमान्छेहरूको कथा हो, जो टाठाबाठा र व्यवस्थाको मारमा शोषित हुन बाध्य छन्। जुन कथामाथि नाटक बनेको छ त्यो कुनै भेग वा भाषाकेन्द्रित होइन। बरु यो त हाम्रो सम्पूर्ण राज्य र राज्य व्यवस्थाको झलक होला भन्दा दुई मत नहोला,’ उनको भनाइ छ।

नाटकमा निशा दाहाल, सरिता भुजेल र गोविन्द सुनारको अभिनयले दर्शकलाई धेरैपटक स्तब्ध बनाइदिन्छ। सागर भट्टराई, अरुण पौडेल, कुन्दन चौधरी, सन्देश कार्की, सुव्रतराज सिलवाल, शिशिर गिरी, जयराम, रितेश कार्की, प्रकाश थापा, राजकमल फकिर, सम्यक महर्जन, निरज दाहाललगायतकाे दमदार अभिनय छ। फकिर र महर्जनले नाटकमा संगीत भरेर थप मिठास भरेका छन्।

श्याम शाहको कथामा आधारित यो नाटक सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन भइरहेको छ। कथालाई भारतीले नै नाट्य रूपान्तरण गरेका हुन्। नाटक फागुन १ गते आइतबारसम्म मञ्चन हुनेछ।
 

See More On

सुझावित समाचार