सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिने सरकारको तयारी

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण
सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिने सरकारको तयारी

२०६ बुँदे कार्ययोजना सार्वजनिक गृहमन्त्री बालकृष्ण खाण

रेल्वे सुरक्षादेखि आतंकवादसम्बन्धी गतिविधि रोकथामसम्मका काममा खटाइँदै

सरकारले अर्धसैन्य सुरक्षा निकाय सशस्त्र प्रहरी बललाई थप जिम्मेवारी दिने तयारी गरेको छ । रेल्वे सुरक्षादेखि आतंकवादसम्बन्धी गतिविधि रोकथामसम्मका काममा उसलाई खटाउन लागिएको छ । 

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’ मा सशस्त्र प्रहरीलाई थप जिम्मेवारी दिने उल्लेख छ । कार्ययोजनामा सशस्त्र प्रहरीमा रेल्वे सुरक्षा गण र प्रतिआतंकवाद सेल गठन गर्ने उल्लेख छ । सरकारले जनकपुरमा रेल सञ्चालन गर्ने तयारी गरिरहेकाले त्यसका लागि हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । सशस्त्रभित्र प्रतिआतंकवाद सेल पनि गठन गर्ने उल्लेख छ । हाल यस्तो सेल नेपाल प्रहरीमा छ । सशस्त्र प्रहरी ऐनमा उसलाई पनि यस्तो अधिकार दिइएकाले सेल गठन गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक सुरक्षा व्यवस्थापनका लागि पनि सशस्त्र प्रहरीको तैनाथी गर्ने सरकारको तयारी छ । विमानस्थलको नियमित सुरक्षा नेपाल प्रहरीले नै हेर्ने र आगलागीलगायत कुनै आकस्मिक घटना भएमा त्यस्ता घटना रोकथामका लागि सशस्त्र प्रहरीलाई रिजर्भ फोर्सका रूपमा राख्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । काठमाडौंसहित पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र राख्न लागिएको हो । 

सशस्त्रका चारवटा औद्योगिक सुरक्षा गुल्म पनि स्थापना गर्न लागिएको छ । यसअघि यस्ता गुल्म खारेज गरिएको थियो । औद्योगिक क्षेत्रबाट माग भएपछि नयाँ गुल्म थप्न लागिएको हो । 

सशस्त्रका सातवटा आश्रित गुल्मलाई अनाश्रित गुल्ममा रूपान्तरण गर्ने र सशस्त्रका १२ गुल्म र बिओपीमा  ब्यारेक निर्माण गर्ने योजनामा राखिएको छ । थप दुई सय बिओपी थप्ने प्रक्रिया कार्ययोजनामा छ । जसअनुसार पहिलो चरणमा एक सय ७३ र दोस्रो चरणमा एक सय २७ बिओपी थप्न लागिएको छ । तर, यो आर्थिक वर्षको सात महिना हुन लाग्दा पनि बिओपी थपको प्रक्रिया अघि बढेको छैन । 

सीमा सुरक्षामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सशस्त्र प्रहरी खटाउने उल्लेख छ । कार्ययोजनाको बुँदा नम्बर ६३ मा भनिएको छ, ‘सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीको अनुपात अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिल्दोजुल्दो बनाई प्रविधि र बन्दोबस्तीका हिसाबले सुसज्जित बनाउने ।’ यसको समयसीमा एक वर्ष राखिएको छ । त्यस्तै, भौगोलिक विषमताअनुरूप सुरक्षाकर्मीहरूका भवन संरचना र लजिस्टिकको मापदण्ड तयारी गरी कार्यान्वयन गर्ने गृहको योजना छ । 

सीमा सुरक्षा ऐन र अध्यागमन नीति बन्ने 
गृहमन्त्री बालकृष्ण खाणले सोमबार २०६ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लगिने बताए । कार्ययोजनामा १९ वटा ऐन र ३१ वटा कार्यविधि मापदण्ड तथा निर्देशक तर्जुमा तथा परिमार्जन गर्ने उल्लेख छ । 

पहिलोपटक सीमा सुरक्षा ऐन तर्जुमा गर्न लागिएको छ । त्यस्तै, देशको अध्यागमन नीति पनि पहिलोपटक बनाउन लागिएको छ । गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तर्जुमा गर्ने कार्ययोजनामा उल्लेख छ । यसका लागि मन्त्रालयले यसअघि नै सरोकारवालासँग छलफल सुरु भइसकेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई खटाउने मापदण्ड निर्माण गरी कार्यान्वयन गरिने मन्त्री खाणले बताए । साथै, न्यायसम्बन्धी तीनमहिने तालिम गरेका वा कानुनमा स्नातक गरेकालाई मात्र प्रमुख जिल्ला अधिकारीमा पठाइने उनको भनाइ छ । सिडिओ अर्धन्यायिक पद भए पनि शान्ति सुरक्षा र कानुनबारे केही अनुभव नभएकालाई पनि पछिल्लो वर्ष सिडिओ बनाइएको थियो । त्यस्तै, निजामतीमा गृह प्रशासनको छुट्टै समूह बनाउने प्रस्ताव पनि मन्त्रालयले गरेको छ । 

निर्वाचनअघि प्रहरी समायोजन नहुने 
कोरोना महामारीको बहानामा रोकिएको प्रहरी समायोजनको काम नियमित हुन कम्तीमा एक वर्ष लाग्ने भएको छ । मन्त्रालयले आगामी दुई वर्षभित्र समायोजनको काम सक्ने भनेको छ । सोमबार मात्रै स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । मंसिरमा संसदीय निर्वाचन हुने सम्भावना रहेको र यो बीचमा समायोजनको काम अघि बढाउँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले यससम्बन्धी काम अघि नबढ्ने गृह मन्त्रालय स्रोत बताउँछ । यस आधारमा निर्वाचनपछि बन्ने नयाँ सरकारले मात्र प्रहरी समायोजन गर्ने सम्भावना छ । 

कार्ययोजनामा सुरक्षा निकायका कर्मचारीको सरुवा, बढुवा तथा अवकाशसम्बन्धी करिअर प्लान पूर्वानुमानयोग्य बनाउने उल्लेख छ । त्यसका लागि मापदण्ड बनाउने भनिएको छ । उपत्यकामा आधुनिक प्रविधिसहितको ट्राफिक टावर स्थापना गर्न लागिएको छ । शान्ति मिसनमा खटिने प्रहरीलाई छुट्टै तालिम दिने, प्रहरीका विशिष्टीकृत ब्युरोहरू केन्द्रीय अनुसन्धान ब्युरो, मानव बेचबिखन अनुसन्धान ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो तथा साइबर ब्युरोका लागि जग्गा पहिचान गरी प्राप्ति गर्ने उल्लेख छ । नेपाल प्रहरीको प्रदेश १, बागमती र कर्णाली प्रदेशमा आगामी चार वर्षभित्र प्रदेश प्रहरी अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ । यो वर्ष सबैभन्दा धेरै विभूषण वितरण गर्ने निर्णय गरेको थियो । यसमा सुधार गरी विभूषण छनोटको मापदण्डको स्तरीकरण गर्ने उल्लेख छ । 

कारागार तथा अध्यागमन सुधारका योजना पनि अघि बढाइएको छ । अध्यागमनमा ई–गेट राख्ने, विदेशी नागरिकमाथि ट्र्याकिङ सिस्टम बनाउने भनिएको छ । खुला कारागार, सामुदायिक सेवा, प्यारोलजस्ता अवधारणा कार्यान्वयन गर्ने, लागुऔषध नियन्त्रण विभागको स्थापनाका लागि अध्ययन हुने भएको छ । मन्त्रालयमातहत कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने उल्लेख छ । 

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्वमा नयाँ कार्ययोजना बनेको छ । सबै सरोकारवाला पक्षसँग छलफल गरी कार्ययोजना बनाएको महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले बताए । यसअघि गृह मन्त्रालयले ०७४ चैतमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरी लागू गरेको थियो । त्यसका ९० प्रतिशत लक्ष्य कार्यान्वयन भएको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार