तीन अर्बसम्मका ठेक्का स्वदेशी ठेकेदारले नै गर्न पाउने

मोबिलाइजेसन रकम २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

सरकारले तीन अर्बसम्मका निर्माण ठेक्का राष्ट्रिय प्रतिस्पर्धामार्फत गर्ने निर्णय गरेको छ । अब एक अर्ब रुपैयाँभन्दा माथिका ठेक्कामा नेपाली निर्माण कम्पनी सहभागी हुन विदेशी कम्पनीसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) गर्नुपर्ने बाध्यता हटेको छ । यसले तीन अर्ब रुपैयाँसम्मका ठेक्कामा नेपाली निर्माण कम्पनीले एकल वा संयुक्त उपक्रममा प्रतिस्पर्धा गरी प्राप्त गर्न सक्नेछ । तर, यस निर्णयले ठूला निर्माण कम्पनीलाई कार्टेलिङ गर्न सहयोग पुग्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ । मन्त्रिपरिषद्मा अघिल्लो हप्ता नै यससम्बन्धी प्रस्ताव गएर विधायन समितिमा पठाइएको र त्यस समितिमा सरोकारवाला निकायको राय लिइसकिएकोे एक मन्त्रीले जानकारी दिए ।

यो निर्णय चालू आर्थिक वर्षसम्मका लागि मात्र रहने र आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी सार्वजनिक खरिद ऐनलाई नै संशोधन गरिने उनको भनाइ छ । त्यस्तै, अहिलेसम्म काम गर्ने क्षमताको सात गुणासम्म काम लिन पाउने व्यवस्थालाई घटाइएको छ । त्यो चार गुणामा झारिएको छ । यसबाहेक पेस्की रकम ५० प्रतिशतले घटाएको छ । यसअघि एक करोडको ठेक्कामा काम थालनी गर्नुअघि तयारीका लागि १० लाख र काम थालेपछि थप १० लाख गरी कुल २० लाख अर्थात् २० प्रतिशत दिने गरिएकोमा त्यसलाई १० लाखमा सीमित गरिने भएको छ । मोबिलाइजेसनलाई नै रोक्न भने नसकिने ती मन्त्रीको भनाइ छ । ‘पेस्की रकमको गलत प्रयोग नहोस् भन्ने हाम्रो चासो हो,’ उनले भने ।

 एउटा निर्माण कम्पनीलाई बढीमा पाँचवटा ठेक्का
मन्त्रिपरिषद् बैठकले काम नगर्ने, तर असीमित ठेक्का लिने प्रवृत्तिलाई हटाउन अधिकतम लिन सकिने ठेक्काको संख्या तोकेको छ । निर्णयअनुसार एउटा निर्माण कम्पनीले बढीमा पाँचवटासम्म ठेक्का लिन पाउनेछ । त्यसभन्दा बढी ठेक्कामा प्रतिस्पर्धा गर्नका लागि लिइसकेको ठेक्का पूरा गरेको हुनुपर्नेछ । 

 आयोजनाको खातामा रहेको  ४० अर्ब रुपैयाँ फिर्ता गरिने 
सरकारले निर्माण व्यवसायीले लामो समयदेखि माग गर्दै आएको धरौटी रकम फिर्ता दिने भएको छ । आयोजनामा सकिएको कामको बिल काट्दा आयोजना कार्यालयले धरौटीबापत भुक्तानीको ५ प्रतिशत राख्ने गरेको छ । आयोजना सम्पन्न गरेपछि मात्र जम्मा भएको सबै रकम निर्माण कम्पनीलाई फिर्ता दिन्छ । तर, चालू आयोजनाको हकमा भने आयोजना पूरा नभएसम्म त्यस्तो धरौटी रकम सम्बन्धित आयोजनाको खातामै फ्रिज भएर रहन्छ । त्यो रकम फिर्ता दिएर बजारमा तरलताको समस्या हटोस् भन्ने सरकारको आशा रहेको छ । यसले निर्माण व्यवसायीलाई पनि रोकिएको काम अघि बढाउन सहयोग पुग्नेछ । त्यस्तो रकम करिब ४० अर्ब रुपैयाँ रहेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।

See More On

सुझावित समाचार