अर्मला पर्वतीय दौडको उपाधि सुमन र छेन्वीमायालाई

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

श्रीपञ्चमीको अवसरमा आयोजित अर्मला पर्वतीय दौडको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ धरानकी छेन्वीमाया राईले जितेका छन् । पोखरा–१६ स्थित अर्मलामा अर्मला कोट युवा क्लबद्वारा आयोजित छैटाैँ संस्करणको दौडको १२ किमि निर्धारित दूरी ५० मिनेट ४८ सेकेन्डमा पूरा गर्दै कुलुङले पुरुषतर्फको उपाधिसँगै नगद २० हजार र राईले एक घन्टा सात मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै महिलातर्फको उपाधिसँगै नगद १० हजार, मेडल र प्रमाणपत्र पाइन् । पोखरा–१ केआईसिंह पुलबाट सुरु भएको दौड अर्मलाकोटमा पुगेर सम्पन्न भएको थियो ।

पुरुषतर्फ दोस्रो भएका बैतडीका मोहनदेव जोशी ५२ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद १५ हजार, तेस्रो भएका सिन्धुलीका जितेन्द्र दनुवारले ५३ मिनेट ३० सेकेन्डमा पूरा गर्दै नगद १० हजार र धरानका मोहनकुमार राईले सान्त्वना स्थान प्राप्त गर्दै नगद पाँच हजार, मेडल र प्रमाणपत्र पाएका छन् ।

यसैगरी, महिलातर्फ दोस्रो भएकी पोखरा–१६ की संगीता विकले एक घन्टा २२ मिनेट तीन सेकेन्डमा दूरी पूरा गर्दै नगद आठ हजार, तेस्रो स्थान प्राप्त गर्ने स्याङ्जा टक्सारकी रिता गुरुङले एक घन्टा २४ मिनेट १९ सेकेन्ड दूरी पार गर्दै नगद पाँच हजार र सान्त्वना स्थान प्राप्त गरेकी पोखरा २५ हेमजाकी ओममाया फगामीले एक घन्टा २६ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दै नगद दुई हजारसँगै मेडल र प्रमाणपत्र पाए ।

सुझावित समाचार