भारत पाँचौँपटक यू–१९ विश्वकप च्याम्पियन

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

नर्थ साउन्ड (वेस्ट इन्डिज)÷ भारतले पाँचौँपटक यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतले शनिबार राति वेस्ट इन्डिजको नर्थ साउन्ड मैदानमा इंग्ल्यान्डलाई चार विकेटले हराउँदै पाँचौँपटक विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले सन् २०००, ०८, ०१२ र ०१२ को विश्वकप उपाधि हात पारेको थियो । पहिलो ब्याटिङ गरेको इंग्ल्यान्ड ४४.५ ओभरमा एक सय ८९ रनमै समेटिएको थियो । प्रत्युत्तरमा भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रन जोडेको थियो ।

भारतको जितमा दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए । निशान्त सिन्धु र सैक रसिदले समान ५० रन बनाएका थिए । रसिदले ८४ बलमा ६ चौका प्रहार गरेका थिए । नटआउट रहेका सिन्धुले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसैगरी, राज बावाले ५४ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३५ रन बनाए ।

भारतको जितमा बावाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले बलिङमा ३१ रन खर्चेर इंग्ल्यान्डका पाँच ब्याट्सम्यानलाई आउट पारे । यसै प्रदर्शनका कारण उनी फाइनल खेलकै म्यान अफ दी म्याच घोषित भए । सहज लक्ष्य पछ्याएको भारतको सुरुवात खराब भयो । इनिङको दोस्रो बलमै ओपनर अंक्रिस रघुवंशी शून्य रनमै आउट भए ।

त्यसपछि हारुन सिंह र रसिदबीच दोस्रो विकेटका लागि ४९ रनको साझेदारी भएको थियो । हारुनले ४६ बलमा २१ रन बनाए । दिनेश वाणले पाँच बलमा दुई चौकाको सहयोगमा १३ रन जोडे । यसअघिको ब्याटिङमा चौथो क्रमका ब्याट्सम्यान जेम्स रेउले सर्वाधिक ९५ रनको योगदान दिएका थिए । उनले एक सय १६ बलमा १२ चौका प्रहार गरे । यसैगरी, जेम्स सेल्सले ६५ बलमा दुई चौकाको सहयोगमा ३४ रन जोडे । प्रतियोगितामा दक्षिण अफ्रिकाका डेवाल्ड व्रेभिस म्यान अफ दी सिरिज भए । उनले प्रतियोगिताभरि पाँच सय नौ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।

बिसिसिआईले जनही ४० लाख दिने
पाँचौँपटक यू–१९ विश्वकप च्याम्पियन बनेको भारतीय टोलीका प्रत्येक खेलाडीले जनही ४० लाख भारु पाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड 
(बिसिसिआई)ले आइतबार च्याम्पियन खेलाडीलाई जनही ४० लाख भारु दिने घोषणा गरेको हो । यसैगरी, टोलीका अफिसियललाई जनही २५ लाख प्रदान गर्ने बिसिसिआईले जनाएको छ । बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय टोलीलाई बधाई दिँदै विजेता खेलाडीलाई नगद प्रदान गर्ने बताएका हुन् । 

सुझावित समाचार