चार दशकसम्म पनि पूरा भएन रारा विमानस्थल १८ वर्षदेखि काठको टहरोमै टर्मिनल टावर

शनिबार, २२ माघ, २०७८
डिजिटल संस्करण
चार दशकसम्म पनि पूरा भएन रारा विमानस्थल १८ वर्षदेखि काठको टहरोमै टर्मिनल टावर

चारैतिर बाटैबाटो, घेराबारसमेत नभएको मुगुको रारा विमानस्थल

२ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण, अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन 

जिल्लाको एक मात्र रारा विमानस्थलमा रहेको टर्मिनल टावरको भवन १८ वर्षदेखि काठको टहरोमै सीमित छ । २ कात्तिक ०६० देखि कच्ची धावनमार्ग र काठको टहरोकै टर्मिनल भवनबाटै जहाज उडान र अवतरण सुरु भएको १८ वर्ष बितिसक्दा पनि अझै सुविधायुक्त टर्मिनल बन्न सकेको छैन । एकतले काठको टहरोभित्र उपकरण राखेर कर्मचारीले वर्षौँदेखि नेपालगन्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्स जहाज उडान र अवतरण गर्दै आएको छ । सामान्य हावा लाग्दासमेत हल्लिने  टहरोमा बसेर जहाजको कनेक्सनमा जोडिनुपरेको विमानस्थल प्रमुख विशाल वरुणले बताए । ‘यही काठको टहरोभित्रै बसेर जहाज बसाल्दै र उडाउँदै आएको मेरो एक वर्ष बित्यो,’ उनले भने । 

रारा विमानस्थलको धावनमार्ग मात्र निर्माण सम्पन्न गर्न करिब ३३ वर्ष लागेको छ । टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा आठ करोड ६० लाख बजेट विनियोजन गरी ओम बुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसित ठेक्का सम्झौता गरेको थियो । तर, एक वर्षसम्म ३० प्रतिशत पनि काम पूरा भएको छैन ।  

विमानस्थल निर्माणका लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भइसक्यो, प्राधिकरणले  विमानस्थलका निम्ति बजेट विनियोजन गर्दै आएको करिब २२ वर्ष पुगेको छ

आयोजनास्थलमा ठेकेदार नियमित नबस्नु, निर्माणको काम अर्कालाई जिम्मा दिनु र प्राधिकरणले नियमित अनुगमन नगर्दा टावर निर्माणको काम कछुवा गतिले अघि बढेको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भइसकेको छ । प्राधिकरणले रारा विमानस्थलका निम्ति बजेट विनियोजन गर्दै आएको करिब २२ वर्ष पुगेको छ । रारा विमानस्थलमा टर्मिनल टावर छिटो सम्पन्न गर्न आयोजना प्रमुख र ठेकेदार कम्पनीलाई ताकेता दिइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको भनाइ छ । निर्माण कार्य पूरा नहुँदा तीनवटा जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको रारा हवाई नागरिक उड्डयन कार्यालयले जनाएको छ । ०३८ सालमा तत्कालीन सांसद तेजबहादुर भामाले स्थापना गरेको एयरपोर्ट उनका पनातिका पालासम्म पूर्ण हुन सकेको छैन । पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल पिच गरिए पनि अझै धेरै काम गर्न बाँकी छ ।

विमानस्थलमा छैन घेराबार
विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा दुईवटा घेराबार हुनुपर्ने भए पनि एउटा सामान्य तारजालीसमेत लगाइएको छैन । जहाज आउँदा सुरक्षाकर्मीले घेराबारका रूपमा काम गर्दै आएका छन् । घेराबार नहुँदा स्थानीय मानिस तथा चौपाया पशु ओहोरदोहोर गर्ने चौबाटो बनेको सुरक्षाकर्मीको भनाइ छ । सम्बन्धित निकायको ध्यान पुगेन भने कुनै दिन ठूलो दुर्घटना हुन सक्ने स्थानीय अशल रावल बताउँछन् । जहाज ल्यान्डिङका समयमा सुरक्षाकर्मीले चारैतिर सिठी फुकेर प्रवेश रोक्ने गरेका छन् ।

काठको टहरोमा डिपार्चर भवन
एउटा काठको टहरोमा सुरक्षा जाँचकक्ष रहेको छ । यात्रुहरूको मालसामान चेकजाँच, यात्रुको सामान तौल गर्ने, ट्याग लगाउने काम यही टहरामा हुन्छ । यात्रुलाई काठको सामान्य बेन्चमा घन्टौँसम्म अँध्यारो साँघुरो टहरोमा राख्नुपर्ने बाध्यता रहेको सोरु गाउँपालिका वडा नं. ६ सिड्डीका हरिभक्त रोकाया बताउँछन् । विमानस्थलमा जहाज पर्खन यात्रु आरामकक्ष नहुँदा ज्येष्ठ नागरिक, बिरामी, अपांग, असहायलगायतका यात्रुहरूलाई समस्या हुने गरेको छ । बर्सातको समयमा ओत लाग्ने र घाममा छहारी बस्ने ठाउँसम्म नहुँदा साह्रै समस्या भएको यात्रुहरू बताउँछन् ।

पहिरोको ठूलो जोखिममा विमानस्थल
रारा विमानस्थलको रनवेदेखि १० मिटरनजिकै पश्चिमतिर पाटपटेनी खोलाले बर्सेनि कटान गर्दै आएको छ । कटानसँगै एयरपोर्टको तल्लो भाग डिलतिर पहिरो खस्न थालेको छ । समयमा मर्मत–सम्भार, घेराबार तथा खोला तटबन्ध हुन नसके विमानस्थल पहिरोको जोखिममा पर्ने देखिन्छ । एकातिर खोलाले कटान गर्दै लानु र अर्कातिर विमानस्थलको छेउमा बनाइएको पाँच सय मिटर नालीको पानी उक्त खोलामा मिसिँदा एक छेउबाट कटान हुँदै गएको र डिलतिर पहिरोको जोखिम बढेको छ ।

एयरपोर्टबाट निकालिएको नालीमा आएको पानी खोलामा मिसिँदा बर्सातको समयमा कटान बढ्ने तथा पहिरो आउने समस्याले सुत्न नपाइने छायानाथ रारा नगरपालिका–५, पाटपटेनी गाउँका गणेश कामी बताउँछन् । उनी भन्छन्, ‘रारा विमानस्थल तल हाम्रो बस्ती रहेको छ, विमानस्थल अग्लो स्थानमा हुँदा माथिबाट आएको पानी, पहिरो सबै हाम्रो घरभित्र पस्ने गरेको छ ।’

टीकापुर विमानस्थल साढे दुई दशकदेखि बन्द

धनगढी विमानस्थल नियमित रूपमा सञ्चालन भइरहँदा सय किलोमिटरको दूरीमा रहेको कैलालीकै टीकापुर विमानस्थल भने बन्द छ । करिब साढे दुई दशकदेखि बन्द रहेको यो विमानस्थल सञ्चालनका लागि पटक–पटक प्रयास भइरहेका छन् ।     २७ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा एक हजार दुई सय मिटर लामो कच्ची धावनमार्ग छ । २०५४ सालदेखि बन्द विमानस्थल सुचारुका लागि विगतमा स्थानीयले समिति गठन गरेका थिए । प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका शीर्ष नेतालाई बारम्बार गुहारे पनि सरकारले बजेट नदिएको स्थानीयको गुनासो छ ।

टीकापुरबाट निर्वाचित प्रदेश सभा सदस्य एवं कांगे्रस नेता रणबहादुर रावलले विमानस्थल बन्द हुँदा धनगढी र नेपालगन्ज जानुपर्ने बाध्यता रहेको बताए । हवाई सेवा नहँुदा गम्भीर बिरामीलाई अन्यत्र लैजान समस्या हुने गरेको उनले बताए ।

‘धनगढी र नेपालगन्ज पुर्‍याउँदा–पुर्‍याउँदै कतिपय बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था छ ।’ रावलले भने, ‘अब विमानस्थल सञ्चालनका लागि पूर्वाधार निर्माणका काम अगाडि बढ्छ ।’ रावलसहितको टोलीले केही दिनअघि पर्यटनमन्त्रीलाई भेटेर विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्न आग्रह गरेको थियो । स्थानीयका अनुसार २०४२ सालदेखि सञ्चालन भएको विमानस्थल २०५४ बाट बन्द भएको थियो । 

१० वर्ष चलेको विमानस्थल बन्यो गौचरण
नवीन लोचन मगर/
विसं. २०३६ देखि सञ्चालनमा आएको रोल्पाको वडाचौर विमानस्थल अलपत्र अवस्थामा छ । करिब १० वर्ष सञ्चालनमा आएको विमानस्थल २०४६ पछि गौचरणमा परिणत भएको छ । लुंग्री गाउँपालिकाको वडाचौरमा रहेको विमानस्थल तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा निर्माण भएको थियो । विमानस्थलबाट काठमाडौं, पोखरा उडान हुन्थ्यो ।

जिल्लाको पूर्वी व्यापारिक नाका सुलिचौरबाट करिब १० किलोमिटर दूरीमा रहेको उक्त विमानस्थल सञ्चालनका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको स्थानीय अमरबहादुर थापाले बताए । ‘हामीले सर्वदलीय र सर्वपक्षीय बैठक गरेर सिंहदरबारसम्म ज्ञापनपत्र बुझायौँ’ थापाले भने, ‘हाम्रो मागलाई कसैले वास्ता गर्दैन ।’ दबाबका कारण विमानस्थलको घेरबार गरिए पनि सञ्चालनका लागि ठोस कार्य भने हुन सकेको छैन । रोल्पाबाट दर्जनौँ नेता राज्यका ठूला पदमा पुगे पनि विमानस्थलका निम्ति कसैले चासो नगर्नु दुःखद भएको स्थानीयको भनाइ छ । 

रेसुंगा विमानस्थलको ८०% भन्दा बढी काम सम्पन्न

टोपलाल अर्याल/  गुल्मीकाे रेसुंगा विमानस्थलको ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । अहिले धावनमार्ग कालोपत्रे र टर्मिनल भवन तथा कन्ट्रोल टावर निर्माणको काम भइरहेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेको छ ।

धावनमार्ग निर्माणको काम भने रौताहा हरिहरि जेभीले सात करोड २५ लाख रुपैयाँमा गरिरहेको छ । धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । त्यस्तै, विमानस्थल घेराबारको काम सकिएको छ ।

मौसम हरिश निर्माण सेवा डोल्पाले १६ पुस ०७६ मा ९१ लाखमा घेराबारको काम गरेको विमानस्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए । रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माणाधीन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो । 

सुझावित समाचार