चुनावी वर्षमा सेयर बजार : मिश्रित प्रभाव

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण
चुनावी वर्षमा सेयर बजार : मिश्रित प्रभाव

चुनावी वर्षहरूमा नेप्से

चुनावी वर्षलाई सेयर लगानीकर्ता स्वर्णिम समयका रूपमा व्याख्या गर्ने गर्छन् 

चुुनावको मिति तयमा दलहरूबीच सहमति बनेसँगै पुुँजी बजारमा लगानी गर्नेहरू बजार बढ्ने र नाफा कमाउन सकिनेमा आशावादी भएका छन् । यही कारण नेप्से हालसम्मकै उच्च बिन्दु आसपास पुगेको छ । वर्तमान सरकारले आगामी जेठभित्र स्थानीय तहको चुुनाव गर्ने तयारी गरिरहेको छ । चुनावी वर्षलाई सेयर लगानीकर्ता स्वर्णिम समयका रूपमा व्याख्या गर्ने गर्छन् । हुन त चुनावी माहोल सेयर बजारका लागि क्षणिक भए पनि यसको दीर्घकालीन असर हुने मान्यता पाइन्छ । त्यसबाहेक बैंकिङ प्रणालीमा तरलताको अवस्था, ब्याजदरको प्रभावलगायतका कारणले बजारलाई अपेक्षित पारेकै हुन्छ । यति हुँदा हुँदै पनि चुनावी माहोलले धेरै हदसम्म बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ता प्रकाश काफ्ले बताउँछन् ।  

चुनावको समयमा राजनीतिक दलहरू जनता रिझाउन लाग्ने र बजार विरोधी गतिविधि वा वक्तव्य बाजी नगर्नेलगायतका कारणले पनि बजारमा सकारात्मक प्रभाव गर्दै आएको छ । त्यति मात्रै होइन, दलहरूले सेयर बजारलाई नै राजनीति गर्ने माध्यमसमेत बनाउन थालेका छन् । ०७४ मा केपी शर्मा ओलीले वाम गठबन्धनका कारण बजार घट्ने भनेर भ्रम फैलाइएको, तर बजार बढ्ने घोषणा नै गरेका थिए । हालै केही महिनाअघि मात्रै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजार सम्बन्धमा दिएको वक्तव्य नै संशोधन गर्नुपरेको थियो । 

चुनावताका जनता रिझाउने बाटोमा दलहरू केन्द्रित हुने हुँदा बजारलाई नकारात्मक बनाउने नीति नआउने मनोविज्ञानले पनि चुनाव अवधिभर सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । ‘वास्तवमै चुनावी समयमा राजनीतिक नेतृत्वकर्ताहरू सबैलाई रिझाउन लाग्छन्,’ उनी भन्छन्, ‘यसले पनि लगानीकर्ता स्वच्छन्द हुन्छन् र उनीहरूमा बजार बढ्छ भन्ने मात्र मनोविज्ञान हाबी हुन्छ ।’ 

सामान्यतया चुनावी समयमा सेयर बजार बढ्नुमा मुख्य कारण भनेकै दलहरूले गर्ने चुनावी खर्च हो । यो समय अनौपचारिक क्षेत्रमा रहेको पुँजी औपचारिक प्रणालीमा आउँछ र अर्थतन्त्र चलायमान हुन थाल्छ । जसरी उपभोग उच्चदरमा बढ्ने चाडपर्वमा अर्थतन्त्र चलायमान हुन्छ, सोही हाराहारीमा चुनावी माहोल तयार भएसँगै हुन थाल्छ । यसले बैंकिङ प्रणालीमा पनि तरलता अधिक बनाउँदै लैजान्छ भने केही महिनासम्म निक्षेपको ब्याजदर बढ्नबाट रोकिने वा घट्ने सम्भावना पनि हुन्छ । निक्षेपको ब्याजदर र सेयर बजारको उतारचढाव अन्तरसम्बन्धित हुने विभिन्न अध्ययनहरूले पनि देखाएको छ । ‘पुँजी बजारमा लगानी गर्नेका लागि चुनाव स्वर्णिम समय हो,’ इन्भेस्टर्स फोरमका अध्यक्ष तुुलसीराम ढकाल बताउँछन्, ‘चुनावले बजारलाई नयाँ उचाइसम्म पुर्याउन भूमिका पनि खेल्छ ।’

प्रभाव मिश्रित  
पछिल्लो चार दशकमा विभिन्न समयमा भएका निर्वाचन र बजारको उतारचढाव हेर्दा बजारमा निर्वाचनको मिश्रित प्रभाव पर्ने गरेको देखिएको छ । सशस्त्र द्वन्द्व कायमै भएको अवस्थामा ३१ पुस ०५५ मा चुनावको मिति घोषणा हुँदा नेप्से एक सय ८१ अंक हाराहारीमा थियो । ०५६ सालको वैशाख र जेठ ३ गते गरी दुुई चरणमा भएको निर्वाचनको परिणाम जेठ ६ गते बिहीबारसम्म आइपुुग्दा नेप्से कारोबार एक सय ९९ बिन्दुुमा आइपुुगेको देखिन्छ । त्यस्तै, ०६४ मा द्वन्द्वरत माओवादी दल शान्तिप्रक्रियामा आएसँगै २७ पुुसमा चुनावको मिति तोकिएको थियो । सो समयमा नौ सय ८१ बिन्दुमा रहेको नेप्से ५ वैशाख बिहीबार चुनावी परिणाम आउँदा भने घटेर सात सय ३४ बिन्दुुमा आएको थियो । पहिलोपटक मूलधारमा माओवादी दल आएसँगै मानिसहरू सशंकित नै थिए । यही कारण पनि बजार घट्न गएको थियो । 

त्यस्तै, पहिलो संविधानसभाको विघटनपछि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले दोस्रोपटक संविधानसभाका लागि ३० जेठ ०७० मा चुुनावको मिति तोकेको थियो । चुनावको मिति तोकिएको समयमा चार सय ९५ बिन्दुुमा रहेको नेप्से ९ मंसिरसम्म्म आइपुुग्दा बढेर ६ सय बिन्दुमा पुगेको थियो । यसबीचमा भने नेप्सेले एक हजार ३६ को उच्च बिन्दु (मासिक बन्द बिन्दुका आधारमा) पनि भेटेको थियो ।  

त्यसपटक संविधानसभाले संविधान निर्माण गरेसँगै मुलुकमा तीन तहको सरकार बन्यो र त्यसैअनुसार आवधिक रूपमा तीनै तहको चुनाव हुने अवस्था बन्यो । दुई चरणमा निर्वाचन हुने भएपछि ०७३ फागुनदेखि वैशाख ०७४ सम्मै चुनावी माहोल बन्यो । सो समय नेप्से सूचक १३ सय ६५ बाट बढेर पुुसको पहिलो हप्तामा १४ सय ७५ बिन्दुुमा पुगेको थियो । 

त्यसो त क्षणिक नै भए पनि चुुनावपछि बन्ने प्रमुख दल, सत्तामा आउने दल र उसले पहिले लिइआएका नीतिका आधारमा पनि लगानीकर्ताको मनोविज्ञान बनेको हुन्छ । ‘यिनै कुराले लगानीकर्ताको मनोविज्ञान बन्दै जान्छ र यसको प्रभाव बजारमा देखिन थाल्छ,’ नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।   

सुझावित समाचार