कांग्रेसको केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल नहुँदा पार्टी व्यवस्थापनका एजेन्डा अलपत्र परेका छन् । १४औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बैठकमा पर्याप्त छलफल नहुँदा र चुस्त निर्णय लिन गठन गरिएको कार्यसम्पादन समितिको बैठक बस्न नसक्दा एजेन्डा अलपत्र परेका हुन् ।
सकभर बैठक नबस्ने र कम समय मात्र बैठक बस्दा स्थानीय तहको निर्वाचन, गठबन्धन सरकारका काम, सरकारका साझा न्यूनतम कार्यक्रम, भ्रातृसंगठनहरूको महाधिवेशन, एमसिसीलगायतका महत्वपूर्ण विषयमा कांग्रेसभित्र छलफल हुन सकेको छैन ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी महाधिवेशनकपछि पहिलो बैठकबाटै कांग्रेसमा एजेन्डाबारे समीक्षा गर्ने र सदस्यहरूले दृष्टिकोण राख्ने स्थिति सुरु हुन नसकेको बताउँछन् । उनले बैठकमा औपचारिकता पूरा गर्न मात्रै प्रस्ताव पेस हुने र अनुमोदनमा मात्रै सीमित भइरहेको बताए ।
‘केन्द्रीय कार्यसमितिमा गम्भीरतापूर्वक समीक्षा र सदस्यहरूले आ–आफ्नो धारणा राख्न पाउनुपर्ने हो, तर त्यो भएको छैन । कार्यसम्पादन समिति पनि तत्कालै बस्नुपर्ने हो, तर बस्न सकेको छैन,’ उनले भने, ‘अहिलेसम्म त कार्यसमितिमा औपचारिकता पूरा गर्न मात्रै प्रस्ताव पेस हुने र अनुमोदन भइरहेको अवस्था छ ।’ पार्टीका एजेन्डामा गम्भीर रूपमा छलफल हुन नसकेको उनको भनाइ छ । ‘सबैको विचार अभिव्यक्त गर्ने र सबैलाई समेटेर वैचारिक रूपबाट मन्थन गरेर निष्कर्षमा पुग्ने अवस्था बन्नुपर्छ,’ केसीले भने । उनले बैठकमा पर्याप्त छलफल हुन नसक्दा महत्वपूर्ण विषय छुटेको र इतर समूहले केन्द्रीय समितिमा छलफल हुनुपर्ने भन्दै उठाएका विषयमा छलफल हुन नसकेको बताए ।
कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुर भने हालसम्म पारित भएका विषय लामो छलफल हुनुपर्ने र असहमति राख्नुपर्ने प्रकारका नभएकाले छोटो समयमा सबैको सहमतिमा पारित हुने गरेको बताउँछन् । महाधिवेशनपछि कोरोना संक्रमण बढेकाले समेत छोटो समय मात्र बैठक हुने गरेको उनको भनाइ छ ।
‘राष्ट्रिय सभा निर्वाचनबारे निर्णय, कार्यसम्पादन समिति बनाउने विषयमा लामो छलफल आवश्यक थिएन । हाम्रो महाधिवेशन सकिएलगत्तै देशमा कोरोनाको ग्राफ बढ्दै जान थाल्यो । जसकारण धेरैपटक बैठक बस्ने अवस्था रहेन । तर पनि आवश्यकतालाई महसुस गरेर कार्यसम्पादन समिति गठन भएको छ,’ उनले भने, ‘अहिलेसम्मका एजेन्डा लामो छलफल हुनुपर्ने खालका थिएनन् । प्रजातान्त्रिक पार्टीमा सदस्यहरूले कुरा राख्न नपाउने भन्ने हुँदैन । अब सहज अवस्था आओस्, त्यसपछि बैठकहरू हुन्छन् । सबैले धारणा राख्ने अवस्था रहन्छ । कांग्रेसको परिपाटी नै सबै कार्यसमितिका सदस्यले धारणा राखिसकेपछि निर्णयमा पुग्ने हो ।’
महाधिवेशनपछिका केन्द्रीय समिति बैठक ६ देखि १५ मिनेट मात्रै
१४औँ महाधिवेशनपछि कांग्रेसका तीनवटा केन्द्रीय समिति बैठक बसे । तर, सबै बैठक १५ मिनेटभन्दा बढी समय बसेनन् । कम समय भएका कारण केन्द्रीय सदस्यले धारणा राख्न नपाउने र बैठक एजेन्डा अनुमोदन गराउनमै सीमित बन्ने गरेका छन् ।
पार्टीका महत्वपूर्ण निर्णय गर्नुपर्ने बैठक औपचारिकतामा मात्रै सीमित हुँदा कांग्रेसका खास विषय भने ओझेलमा परिरहेका छन् । महाधिवेशनपछि १० पुसमा पहिलो केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले संकल्प प्रस्ताव, धन्यवाद प्रस्ताव, राष्ट्रिय सभा निर्वाचनसम्बन्धी प्रस्ताव र राष्ट्रिय सभा निर्वाचनको बाध्यताका कारण निर्वाचन आयोगमा दल दर्ताको प्रस्ताव पारित गरेको थियो । बैठक १५ मिनेट मात्र बसेको थियो ।
त्यसपछि १९ पुसमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेसका तर्फबाट ६ जना उम्मेदवारको नाम पारित गर्ने र निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
दोस्रो बैठक १० मिनेटभन्दा कम समय मात्र बसेको थियो । त्यसवेला छोटो समय मात्रै बसेको बैठकमा धारणा राख्न नपाएपछि केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले लिखित रूपमा सभापति शेरबहादुर देउवालाई केन्द्रीय सदस्यमा मनोनयनमा सन्तुलन कायम गर्न माग गरेका थिए । ‘मैले बैठकमा धारणा राख्न नपाएपछि सभापतिलाई लिखित रूपमा माग गरेको हुँ,’ उनले भनेका थिए । यस्तो व्यवहारले सभापतिको व्यवहार शंकाको घेरामा परेको उनले प्रतिक्रिया दिए । १४ माघमा भर्चुअल माध्यमबाट तेस्रोपटक बसेको केन्द्रीय समितिको बैठकमा एक मात्र प्रस्तावका रूपमा कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव पेस भई पारित भएको थियो । बैठक जम्मा ६ मिनेट मात्र बसेको थियो ।
कार्यसम्पादन समितिको पहिलो बैठक नै अनिश्चित
गठन भएको एक सातासम्म पनि केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बस्न सकेको छैन । १४ माघमा बसेको कांग्रेस बैठकले कार्यसमिति बैठक नभएको अवस्थामा आवश्यक निर्णय लिन ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । तर, पार्टीले तत्काल निर्णय लिनुपर्ने थुप्रै एजेन्डा भए पनि कार्यसम्पादन समितिको बैठक बस्न सकेको छैन ।
शुक्रबार बस्ने तयारी गरिएको कार्यसम्पादन समितिको बैठकसमेत पछिल्लो राजनीतिक घटनाक्रमका कारण अनिश्चित बनेको छ । कांग्रेस नेताहरूले यसै साताभित्र कार्यसम्पादन समिति बैठक राखेर भ्रातृसंगठनहरूको महाधिवेशनलगायतका विषयमा आवश्यक निर्णय लिने बताउँदै आएका थिए ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बैठक बस्ने तयारी गरिएको, तर स्थानीय निकायको निर्वाचन, एमसिसीलगायतका विषयका कारण तत्काल बैठकको सम्भावना नरहेको जानकारी दिए । उनले केही दिन ढिला गरी कार्यसम्पादन समिति बैठक बस्ने बताए । ‘बैठक बस्नैपर्ने जरुरी छ । यही साता बैठक राख्ने तयारी भएको हो । तर, राष्ट्रिय राजनीतिका कारण केही दिन ढिला हुने भएको छ । कहिले बस्ने भन्ने छलफल चलिरहेको छ,’ मुख्यसचिव पौडेलले भने ।