गृहमन्त्री बालकृष्ण खाणले विभिन्न जिल्लामा शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग जानकारी लिएका छन् । उनले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरी जानकारी लिएका हुन्।
फोनवार्तामा गृहमन्त्री खाणले जिल्लामा कोभिड– १९ संक्रमण, जिल्लाको शान्तिसुरक्षा, जिल्लाबाट जनताले पाएका सेवासुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनुपर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुछ गरेका थिए ।
उनले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन संवाद गरेका थिए ।
त्यसैगरी चक्रपाणि पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरेका थिए ।
कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्यांकबारे जतिवेला पनि जानकारी राख्न सजग गराएको बताए । पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैँले फोन गर्दा काम गर्ने हौसला मिलेको जानकारी दिए ।