प्रहरीलाई चुनौती बन्दै उखुबारीमा फेला परेका दुई व्यवसायीको हत्या रहस्य

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

मोरङको धनपालथान गाउँपालिका– ७ स्थित बोर्डिङ टोलनजिकै उखुबारीभित्र खाल्डो खनेर गाडेको अवस्थामा फेला परेका दुई व्यवसायीको हत्या रहस्य  पत्ता लगाउन प्रहरीलाई चुनौती बनेको छ। १२ र १३ माघमा बोर्डिङ टोलमा उखुबारीभित्र ३० मिटरको दूरीमा नुन हालेर शव गाडेको अवस्थामा फेला परेको थियो। धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका– ४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या रहस्य चुनौती बनेको हो।

व्यवसायीहरूको शव सुरुङजस्तो खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको थियो। उनीहरूको हत्या रहस्य पत्ता लगाउन मोरङ प्रहरी र प्रदेश १ प्रहरीको विशेष अनुसन्धान टोली परिचालन भएको छ। उक्त घटनाबारे नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो (सिआइबी)ले समेत चासो दिइरहेको छ। 

घरजग्गादेखि उद्योगसम्म अर्बौँको लगानी
व्यवसायीहरूको सुनियोजित हत्या भएको ठानेर प्रहरीले गम्भीरताका साथ सूक्ष्म अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए। उनका अनुसार उखुबारीभित्र मृत फेला परेका श्रेष्ठ र चौधरी कारोबारमा साझेदार हुन्। सुनसरीको धरान स्थायी घर भएका श्रेष्ठ भक्तपुरमा र सप्तरीको शम्भुनाथ स्थायी घर भएका चौधरी काठमाडौंमा बस्दै आएका थिए।

परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरू दुवैजना ४ पुसदेखि परिवारको सम्पर्कमा  थिएनन्। उनीहरू दुवै २८ मंसिरतिर कारोबार मिलाउन बाँकी रहेको भन्दै पूर्व आएका थिए। निर्माण व्यवसायी शम्भुकी श्रीमती अम्बिकाले दिएको जानकारीअनुसार शम्भुले पूर्व आएपछि दुई लाख रुपैयाँ पनि मगाएका थिए। चौधरीले काठमाडौं– १७ मा स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सन प्रा.लि. नामको कम्पनी सञ्चालन गरेर निर्माण व्यवसायको काम गर्दै आएका थिए। यता, श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए।

प्रहरी स्रोतका अनुसार मृत फेला परेका श्रेष्ठ र चौधरीले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका पाइएको छ। उनीहरूको हत्या के कारणले भएको हो भन्ने अझै खुलिनसकेको प्रहरीले जनाएको छ।

उनीहरूको कारोबार सञ्जाल लाख/करोडको मात्र नभएर अर्बौँको भएको प्रहरीले फेला पारेको छ। यसैले अपराधमा संलग्न गिरोह पहुँचवाला र शक्तिशाली भएको अनुमान गर्दै प्रहरीले रहस्य पत्ता लगाउन विभिन्न टोली गठन गरेको छ। एउटा टोलीले काठमाडौंसम्म पुगेर अनुसन्धान गरिरहेको छ भने अन्य टोलीले घटनास्थलदेखि उनीहरूको कारोबार रहेका जिल्ला र सम्बन्धित मानिसहरूसँग सोधपुछ गरिरहेको छ।

दुवै व्यवसायीको लेनदेनकै विषयमा सुनियोजित रूपले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले कारोबारमा लेनदेन हुने मिटरब्याजीलाई पनि शंकाको घेरामा राखेको छ। मोरङका एसपी जर्नादन जिसीले भने, ‘कारोबारको शत्रुताले गर्दा हो कि पैसा लुट्नका लागि मात्रै हत्या भएको भन्ने अझै टुंगाे लागिसकेको छैन। दुवैजनाको नियोजित हत्या नै भएको हो भनेर तीन–चारवटा टोली बनाएर हामी गहन अनुसन्धान गरिरहेका छौँ।’
 
सीमानाकादेखि चार किलोमिटर उत्तरमा घटनास्थल 
व्यवसायीको शव फेला परेको घटनास्थल नेपाल–भारत सीमानाकादेखि चार किलोमिटर उत्तरमा पर्छ। उनीरूलाई कुनै स्थानीयको सहयोगमा अपहरण गरी हत्या गरिएको हुन सक्ने पनि प्रहरीको आशंका छ। त्यसैले  व्यवसायीहरूको शव फेला परेको घटनास्थलको भूगोलसँग जानकार व्यक्ति स्थानीय नै हुन सक्ने भएकाले प्रहरीले निगरानी गरिरहेको छ। सहर–बजारमा बन्धक बनाएर हत्या गरी गाउँमा लगेर खाल्डो खनेर शव गाड्नु सिसिटिभी, चेकजाँच आदि कारणले सहज नभएकाले अपहरण गरी गाउँमै लगेर हत्या गरेको हुन सक्ने पनि प्रहरीको अनुमान छ। ‘किनभने शवको घाँटीमा चोट देखिएकाले उनीहरूलाई ठूलै गिरोहले अपहरण गरी बन्धक बनाएर यातना दिएर हत्या गरेको हुन सक्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

कृषि मजदुरहरूले काम गर्ने क्रममा उखुबारीभित्र आलो खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले १२ माघमा उत्खनन गर्दा खाल्डोभित्र पहिले राजेन्द्र श्रेष्ठको शव फेला परेको थियो । उनको शव  उभिन्डाे (टाउको तल खुट्टा माथि) पारेर  साँधुरो, तर गहिरो खाल्डोमा गाडिएको थियो । लगत्तै तीस मिटर पर अर्को पनि उस्तै खाल्डो देखिएपछि प्रहरीले १३ माघमा उत्खनन गर्दा शम्भु चौधरीको अर्को शव फेला परेको थियो।

शवसँगै भेटिएको ड्राइभिङ लाइसेन्स र परिचयपत्रले गर्दा श्रेष्ठको शव भोलिपल्टै परिवारले सनाखत गरेका थिए। चौधरीको शव भने चार दिनपछि लत्ताकपडा र शवको हुलियाका आधारमा परिवारले पहिचान गरेको थियो।

सुझावित समाचार