बिंगाे खेलिरहेको अवस्थामा नगदसहित ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका– ६ नयाँ बस्तीमा निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिंगाे खेलिरहेको अवस्थामा ६६ पुरुष र आठ महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त स्नुकर हाउस दोलखा सैलुङ गाउँपालिकाका ३० वर्षीय सागर घिसिङले खोल्न लागेका हुन्। प्रहरीले घिसिङलाई पनि पक्राउ गरेको जनाएको छ।
स्नुकर हाउसमा हारजित हुने गरी बिंगाे खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा प्रहरी खटिएको थियो। प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको जनाएको छ।