बोक्सी आरोपमा कुटिएकी वकिला खातुनको जाहेरी १३ दिनपछि प्रहरीमा दर्ता, दुई मुख्य आरोपी पनि पक्राउ

नयाँ पत्रिका फलोअप

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण
बोक्सी आरोपमा कुटिएकी वकिला खातुनको जाहेरी १३ दिनपछि प्रहरीमा दर्ता, दुई मुख्य आरोपी पनि पक्राउ

बरहथवा इलाका प्रहरी कार्यालयमा जाहेरी दर्तापछि पीडित वकिला खातुन र छोरा महबुब

बरहथवा इलाका प्रहरीका डिएसपी उमाशंकर यादवको प्रतिबद्धता–पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन

उधारो खाएको ५० रुपैयाँ माग्दा छिमेककै पाँच पुरुषबाट निर्घात कुटिएकी सर्लाही धनकौल गाउँपालिका– ३ हरकठवाकी ६५ वर्षीया वकिला खातुनको किटानी जाहेरी १३ दिनपछि आइतबार प्रहरीले दर्ता गरेको छ । ‘उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट’ शीर्षकमा नयाँ पत्रिकाले शनिबार पहिलो पृष्ठमा मुख्य समाचार प्रकाशित गरेको थियो । 

इलाका प्रहरी कार्यालय बरहथवाले मुद्दा दर्तालगत्तै दुई मुख्य आरोपी धन्कौल– ३ पुरानो बजारका ४० वर्षीय मगनी साह र उनका सहोदर भाइ ३० वर्षीय होरिल साहलाई पक्राउ गरेको छ । आइतबार नै जिल्ला अदालतबाट तीन दिन म्याद थपेर उनीहरूमाथि अनुसन्धान सुरु गरेको बरहथवा इलाका प्रहरी प्रमुख डिएसपी उमाशंकर यादवले बताए । वकिलाको पसलबाट उधारो खाएर नतिरेका मगनीले भाइ होरिलसहित ४५ वर्षका नुनु साह, उनका छोरा २५ वर्षीय जितकुमार साह र २१ वर्षीय सुनील साहको समूह लगेर २८ पुसको राति र ३ माघको बिहान दुईपटकसम्म आक्रमण गरेका थिए । पीडतका अनुसार उनीहरूले ‘बोक्सी’ भन्दै कपाल लुछेर घिसारेका थिए । त्यतिखेर आमालाई जोगाउन गएका २८ वर्षीय महबुब मियाँ र ४० वर्षीय जोहर अन्सारीलाई पनि कुटपिट गरेका थिए । फरार तीन आरोपीको पनि खोजी भइरहेको डिएसपी यादवले बताए । 

‘३ माघमा पीडित पक्षले ल्याएको निवेदनमा ‘बोक्सी’ लेखिएको देखियो । त्यसैले मुद्दा फाँटले ‘बोक्सी’ उल्लेख गर्न मिल्दैन, ‘बोक्सीको आरोप’ हो भने जाहेरी लिएर आउनु भनेको हुन सक्छ । ‘कम्युनिकेसन ग्याप’का कारण मुद्दा दर्तामा ढिलाइ भएको हो, पीडितलाई अन्याय गर्ने प्रहरीको कुनै मनसाय होइन,’ उनले भने, ‘समाचार आएपछि म आफैँ फिल्डमा गएँ । पीडित र छरछिमेकसँग घटनाबारे बुझेँ । ढिलै भए पनि उहाँहरूको मुद्दा दर्ता भएको छ । बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । दुई आरोपी पक्राउ परिसकेका छन् । कानुनी व्यवस्थाअनुसार म्याद थप गरेर अनुसन्धान अघि बढाइसकेका छौँ । अन्य तीन आरोपीको पनि खोजी भइरहेको छ । पीडितलाई न्याय दिलाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन ।’

पीडित वकिलाले ढिलै भए पनि मुद्दा दर्ता भएकोमा न्याय पाउने आस पलाएको बताएकी छिन् । ‘यो उमेरमा सारा गाउँलेको अगाडि बोक्सीको बात लगाएर मनमर्दन गर्दै कुटपिट गर्दा शरीर जति दुख्यो, त्योभन्दा धेरै मन पोलेको छ । प्रहरीले पनि मुद्दा दर्ता नगरेपछि त झन् विचलित भएकी थिएँ । तर, ढिलै भए पनि मुद्दा दर्ता भएपछि न्याय पाउने आस पलाएको छ,’ उनले भनिन्, ‘मुद्दा–मामलामा नलाग् भनेर गाउँमा फकाउने र धम्क्याउने गरिरहेका छन् । तर, मैले कति सहने ? यो उमेरमा मलाई बोक्सीको बात लगाएका छन् । छोराहरूलाई पनि कुटेका छन् । त्यसैले मलाई अरू केही चाहिँदैन, निसाफ चाहियो । उनीहरूले कानुनअनुसार सजाय पाउनुपर्छ ।’

मगनीले २८ पुसको मध्यराति वकिलालाई ओछ्यानबाटै थुतेर आफ्नो घरसम्म घिसार्दै पु¥याएका थिए । उनलाई स्थानीय महिलाले छुटाएर जोगाएका थिए । घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्ने वकिला त्यस दिन दिउँसो आफ्नो पसलबाट खाएको ५० रुपैयाँ माग्न मगनीको घरमा पुगेकी थिइन् । तर, पैसा दिनुको साटो झपारेर पठाएका मगनीले राति घरमै गएर आक्रमण गरेका थिए । 

‘छिमेकी मर्दा–पर्दा चाहिन्छ’ भनेर एकपटकलाई अन्याय सहेकी वकिला २ माघको बेलुका पुनः पैसा माग्न मगनीको घर पुगेकी थिइन् । अघिल्लोपटक जस्तै गाली गरेर घरबाट धपाएका मगनीले भोलिपल्ट बिहान अन्य चारजना लिएर लाठीमुंग्रीसहित वकिलाको घरमा पुगेर कपाल लुछ्दै निर्घात आक्रमण गरेका थिए । उनको आँखामा चोट लागेर रगत जमेको छ । 

३ माघको घटनालगत्तै वकिलाका दुई छोरा र गाउँका एक सहयोगीसहित किटानी जाहेरी लिएर बरहथवा इलाका प्रहरी कार्यालय पुगे पनि ‘बोक्सी’ शब्द हटाएपछि मात्रै निवेदन दर्ता हुने भन्दै प्रहरीले फर्काइदिएको थियो । जब कि त्यसको भोलिपल्ट ४ माघमा उल्टै वकिला र उनका छोराहरूविरुद्ध मगनी साह पक्षले इलाका प्रहरी कार्यालयमै दिएको निवेदन तत्काल दर्ता भएको थियो । त्यति मात्रै होइन, वकिला र उनका छोराहरूलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको थियो । छिमेकीले पीडितलाई प्रहरीले झन् पीडित बनाउन खोजेको भन्दै विरोध गरेपछि प्रहरी त्यसै फर्किएका थियो । त्यसपछि पीडितहरू ७, ९ र १० माघमा जिल्ला प्रहरी कार्यालय धाउँदा मुद्दा इलाका प्रहरीले नै दर्ता गर्ने भन्दै जिल्लाबाट फर्काइदिएको थियो ।

बोक्सी आरोपमा शारीरिक र मानसिक यातना भोगेकी वकिलाको माग–अरू केही चाहिँदैन, निसाफ चाहियो
यो उमेरमा सारा गाउँलेको अगाडि बोक्सीको बात लगाएर मनमर्दन गर्दै कुटपिट गर्दा शरीर जति दुख्यो, त्योभन्दा धेरै मन पोलेको छ । प्रहरीले पनि मुद्दा दर्ता नगरेपछि त झन् विचलित भएकी थिएँ । तर, ढिलै भए पनि मुद्दा दर्ता भएपछि न्याय पाउने आस पलाएको छ । मुद्दा–मामलामा नलाग् भनेर गाउँमा फकाउने र धम्क्याउने गरिरहेका छन् । तर, मैले कति सहने ? यो उमेरमा मलाई बोक्सीको बात लगाएका छन् । छोराहरूलाई पनि कुटेका छन् । त्यसैले मलाई अरू केही चाहिँदैन, निसाफ चाहियो । उनीहरूले कानुनअनुसार सजाय पाउनुपर्छ ।

सुझावित समाचार