स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : शेखर कोइराला

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण
स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : शेखर कोइराला

फाइल फोटो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइरालानिवासमा आइतबार बिहान सञ्चारकर्मीसँग उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएको उल्लेख गर्दै निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए।

उनले सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुंगाे लगाउनुपर्ने तर्क गर्दै ऐन–कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने धारणा राखे। उनले भने, ‘गठबन्धनका दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ।’

केन्द्रीय सदस्य डा. कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए। उनले प्रदेश १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्य्राउने र मन्त्रीको संख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे।

उनले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्छ बताए। रासस

सुझावित समाचार