ओसिएमसीबारे स्थानीय सरकार नै बेखबर

जहाँ हिंसा पीडितको उपचार, न्याय निरुपणदेखि पुर्नस्थापना सम्मको सुविधा पाउँछन्

शनिबार, १५ माघ, २०७८
डिजिटल संस्करण

अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) का बारेमा स्थानीय सरकारनै अनभिज्ञ भएको पाइएको छ । ०७४ चैतबाट गुल्मी अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरूका लागि एकीकृत र प्रभावकारी उपचारको व्यवस्थाका लागि अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धीप एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना भएको हो । यो केन्द्रमा उपचार, न्याय निरुपणदेखि पुनर्स्थापनासम्मको व्यवस्था रहेको छ । 

केन्द्र स्थापना भएको चार वर्ष पूरा भयाे । तर, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले केन्द्र र त्यसमा भएका व्यवस्थाका बारेमा आफूहरूले पहिलोपटक जानकारी पाएको बताए । इस्मा गाउँपालिका जिल्लामा सबैभन्दा बढी घरेलु हिंसाका घटना हुने स्थानीय तह हो । यो केन्द्रबाट हिंसामा पर्नेहरूले सबैभन्दा बढी सेवा पाउँछन् । इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले केन्द्र र सेवाको अनभिज्ञताका कारण थुप्रै हिंसा प्रभावितहरूलाई केन्द्रसम्म ल्याउन नसकिएकोमा पश्चाताप गरे ।

संकट व्यवस्थापन केन्द्रका बारेमा स्थानीय तहलाई वेलैमा जानकारी नगराएका कैयौँ नागरिक सेवा पाउनबाट वञ्चित भएको विष्टले गुनासो गरे । ‘स्थानीय सरकार प्रमुखले त पहिलोपटक (OCMC) को बारेमा सुने, सर्वसाधारण नागरिकले के सेवा पाए होलान्,’उनले भने,‘अब गाउँ–गाउँमा प्रचार गरौँ ।’ केन्द्र सञ्चालन निर्देशिकामा मनोसामाजिक परामर्श, पीडितको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्ने, सबै सरोकारवालाहरूले आचारसंहिताको पालना गर्नुपर्ने, समुदाय स्तरमा सूचना, शिक्षा तथा सशक्तीकरणका कार्यक्रम सँगसँगै लैजानुपर्ने उल्लेख गरिएको छ ।

पीडितको स्वास्थ्य र कानुनी उपचारदेखि पुनर्स्थापनाको व्यवस्था
एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) केन्द्रले लैगिक हिंसापीडितको शारीरिक उपचार तथा परामर्श, भर्ना अवधिभर आवाससहित सबै सेवा निःशुल्क, न्याय तथा सुरक्षाको र पुनर्स्थापनाको समेत व्यवस्था गर्ने गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।  स्वास्थ्यउपचार अस्पतालले, सुरक्षा जिल्ला प्रहरी कार्यालय र न्यायका लागि जिल्ला न्यायाधिवक्ताको कार्यालयले गर्ने गर्दछ । जटिल प्रकृतिका घटनाहरु रेफर गर्नुपरे केन्द्रले जिल्लाबाहिरको अस्पतालसम्मको यातायात शुल्कसमेत केन्द्रले व्यवस्थापन गर्ने पच्याले बताए । एकद्वार संकट व्यवस्थापन केन्द्रको निर्देशिकाले विनाभेदभाव हिंसापीडित र प्रभावितलाई स्वास्थ्य सेवा, कानुनी तथा अन्य आवश्यक परामर्श सेवा, र पुनर्स्थापनासम्मको व्यवस्था गर्छ । केन्द्रबाट आर्थिक वर्ष ०७५/०७६ मा बलात्कारपीडित ३९ र शारीरिक दुर्व्यवहारका २० जना पीडितले सेवा लिएका छन् ।

आर्थिक वर्ष ०७६/०७७ बलात्कार र शारीरिक दुर्व्यवहारका १८/१८ जनाले सेवा पाएको केन्द्रको फोकल पर्सर्न जमुना पन्थीले जानकारी दिइन् । त्यस्तै, आर्थिक वर्ष ०७७/०७८ बलात्कार २३, यौनजन्य दुर्व्यवहार चार र शारीरिक दुर्व्यवहारअन्तर्गत कुटपिटका २४ जना पीडितले केन्द्रमार्फत आवश्यक सेवा पाएको पन्थीले बताइन् । यो आर्थिक वर्षमा यौनजन्य दुर्व्यवहारका दुई र शारीरिक दुर्व्यवहारका  १३ जना पीडितले सेवा लिएका छन् । निर्देशिकाअनुसार हिंसा प्रभावितको स्वास्थ्यसम्बन्धी विवरण संकलन, परीक्षण उपचार अभिलेखीकरण, शारीरिक चोटपटकको उपचार गर्ने, कानुनी प्रमाणका लागि आवश्यक पर्ने नमुनाको संकलन, परीक्षण एवं संरक्षण, गर्भ परीक्षण तथा आकस्मिक गर्भ निरोधक सेवा र यौनजन्य संक्रमणको उपचार तत्काल अस्पतालले गर्नुपर्नेछ । 

See More On

सुझावित समाचार