कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन महामारीको तेस्रो लहर फैलिरहेको वेला दार्चुलाको मालिकार्जुन गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी भने भ्रमणमा निस्किएका छन् । मालिकार्जुन गाउँपालिकामै कोरोना संक्रमित बढ्दै गइरहेको वेला गाउँपालिकाको सबै टिम भ्रमणमा निस्किएको हो ।गाउँपालिकाका जनप्रतिनिधि तथा कार्यालयका १४ जना कर्मचारी भ्रमणमा निस्किएका छन् । उनीहरू नेपालका नमुना स्थानीय तहको अवलोकन भ्रमणमा निस्केका हुन् ।
कोरोनाको चेकजाँच व्यवस्थापन राम्रो बनाउन छोडेर जनप्रतिनिधि र कर्मचारीको टोली पोखरा, काठमाडौं, धनकुटा हुँदै इलामसम्मको अवलोकन भ्रमणमा निस्केका हुन्। अहिले मालिकार्जुन गाउँपालिकामा १४ जना सक्रिय कोरोना संक्रमित छन्। बिहीबार गाउँपालिकाको टोली भ्रमणमा निस्किएको गाउँपालिकाका प्रवक्ता प्रेम पन्तले बताए। ‘अहिले नमुना पालिकाहरूको अवलोकन भ्रमण हो,’ प्रवक्ता पन्तले भने ‘सीमित संख्यामा मात्रै भ्रमणमा गएका हौँ ।’
‘अहिले हामी सबैजना कोरोनाविरुद्वको खोप लगाएर भ्रमणमा निस्किएका हौँ,’ मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरजप्रसाद जोशीले भने, ‘हामीमा त्यस्तो समस्या छैन ।’ गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी काठमाडौंमै छन्। गाउँपालिका उपाध्यक्ष पुष्षा अवस्थी महेन्द्रनगर छिन्। गाउँपालिका उपाध्यक्ष भने अवलोकन भ्रमणमा सहभागी नहुने भएकी छिन् ।
उपाध्यक्ष अवस्थीले भनिन्, ‘मलाई भ्रमणको खबर आएको थियो, मैले नजाने भनेँ।’ जनप्रतिनिधिको अन्तिम वर्ष भएका कारण घुम्न गएका होलान्। भ्रमणबारे आफू पूरै जानकार नभएको उनको भनाइ छ। अहिले कोरोनाको महामारीका वेला जनतालाई सेवा दिनुको सट्टा सबै कर्मचारी, जनप्रतिनिधि भ्रमणमा जाँदा नराम्रो सन्देश जाने भएकै कारण आफू सहभागी नभएको उनले बताइन्।अहिले गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।