पत्रकार विश्वकर्माको निधनको विषय छानबिन गर्न प्रेस काउन्सिलको माग

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ। टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीबार पाटन अस्पतालमा निधन भएको थियो। उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनकाे निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरू बाहिरिएका छन् ।

यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाहीको माग गरेको हो ।अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासनसँग कुरा भएको बताए । 

अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडि बढाउँछ, केही दिन पर्खने र सोहीअनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताए। अछामको रामारोशन गाउँपालिका वडा नं. ५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए। 

सुझावित समाचार