कृषि मिटरको महसुल नगरपालिकाले तिरिदिने

शनिबार, १ माघ, २०७८
डिजिटल संस्करण

किसानलाई सहुलियतका लागि सिराहाको गोलबजार नगरपालिकाले नगरक्षेत्रमा चलाइएको कृषि मिटरको महसुल रकम तिरिदिने भएको छ । गोलबजार नगर कार्यपालिकाको २९ पुसमा सम्पन्न बैठकको निर्णयअनुसार १ माघदेखि लागू हुने गरी नगरक्षेत्रभित्रका किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिदिने नगरप्रमुख देवनाथ साहले जानकारी दिए । 

कृषि मिटर चलाउँदा किसानले खपत गरेको विद्युत्को महसुल नगरको कृषि शाखामार्फत सम्बन्धित किसानका नाममा विद्युत् प्राधिकरणलाई सोझै भुक्तानी गरिने नगरप्रमुख साहले बताए । ‘त्यसका लागि प्राधिकरणसँग नगरको सम्झौता हुँदै छ’ उनले भने, ‘कृषि मिटर चलाउँदा पुस मसान्तसम्मको महसुल बक्यौता प्राधिकरणले नै असुल गर्ने र त्यसयताको महसुल नगरले भुक्तानी दिन्छ ।’ कृषि मिटर चलाएका किसानले प्राधिकरणमा मिटर किन्दा लिएको रसिद, ग्राहक नम्बरसहित कृषि शाखामा दर्ता भएपछि त्यसका आधारमा चालू आर्थिक वर्ष २०७८–०७९ को असार मसान्तसम्मको महसुल नगरले प्राधिकरणलाई भुक्तानी दिने कृषि शाखा प्रमुख रामनारायण महतोले बताए । नगरक्षेत्रमा खेती गरिने साढे ६ हजार हेक्टर (नौ हजार सात सय ५० बिघा) जग्गामध्ये करिब तीन हजार हेक्टर जग्गामा कृषि मिटरमार्फत सिँचाइ भइरहेको कृषि शाखा प्रमुख महतोले बताए । 

गोलबजार नगरक्षेत्रका पाँच सय ९२ जना किसानले कृषि मिटर जडान गरेको प्राधिकरणको तथ्यांक उद्धृत गर्दै नगरप्रमुख साहले भने ‘किसानले खेतीपाती गर्दा मासिक रूपमा खपत गरेको विद्युत्को बिलअनुसार प्राधिकरणलाई भुक्तानी दिइनेछ ।’ गोलबजार नगरक्षेत्रमा विभिन्न समयमा बनेर सञ्चालनमा रहेका करिब डेढ दर्जन सिँचाइ आयोजना रहेको उनले बताए । 
       

सुझावित समाचार