सिराहाको सिर्जनशील लघुवित्त वित्तीय संस्थाले साढे ६ करोड रुपैयाँभन्दा बढी मुनाफा कमाएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभामा आव ०७६/७७ मा एक करोड ३७ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको संस्थाले गत आवमा भने साढे ६ करोड रुपैयाँभन्दा बढी नाफा गरेको विवरण सार्वजनिक भएको हो ।
प्रतिवेदनअनुसार उक्त अवधिमा संस्थाले १२ अर्ब ३५ करोड ९५ लाख ३३ हजार पाँच सय ६८ लगानी र १० अर्ब ४६ करोड २७ लाख ७२ हजार पाँच सय ८८ असुली गरेको छ । साधारणसभामा सेयरधनी सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठले संस्थाको भाका नाघेको ऋण असुलीतर्फ ध्यान दिनुपर्ने औँल्याए ।
प्रदेश १ को एक, २ को आठ र बागमती प्रदेशमा एक जिल्ला गरी १० जिल्लामा संस्थाले ३३ शाखामार्फत लघुवित्त सेवाअन्तर्गत ग्राहक सदस्यहरूमा लगानी, कर्जा असुली, बचत तथा बिमालगायतका गतिविधि गरिरहेको प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठले बताए ।
संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा तीन करोड ३७ लाख दुई हजार पाँच सय रुपैयाँबराबरको तीन लाख ३७ हजार २५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिँदै श्रेष्ठले त्यसका लागि सिर्जनशील र क्यापिटलसँग सम्झौता गरी प्रक्रिया अगाडि बढाइएको छ ।