क्होलासोँथार गाउँपालिका– ८ घाम्राङ गाउँमा दुई वर्षअघि स्थापना गरिएको ‘टिस्यु कल्चर ल्याब’ विद्युत् अभावमा सञ्चालनमा आउन सकेको छैन । हिमालयन हर्बो सेन्टरले बिउविना बिरुवा उत्पादन गर्ने प्रविधि टिस्यु कल्चरका लागि ७० लाख रुपैयाँमा संरचनासहित उपकरण जडान गरेको दुई वर्ष पुगे पनि विद्युत् अभावमा सञ्चालन हुन नसकेको हो ।
कम्पनीका अध्यक्ष गमप्रसाद गुरुङले आवश्यकताअनुसार विद्युत् जडान हुन नसक्दा अहिलेसम्म ल्याबका मेसिन सञ्चालन गर्न नसकिएको बताए । ‘स्थानीयस्तरमा उत्पादित लघु जलविद्युत् भए पनि यो उपकरणका लागि भोल्टेज पुग्दैन । राष्ट्रिय प्रसारणको विद्युत् लाइनबाट सेवा प्रवाह हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो,’ उनले भने । टिस्यु कल्चर प्रविधि सुरु गर्न घाम्राङमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगे पनि हालसम्म विद्युत् जडान हुन सकेको छैन ।
कृषि, जडिबुटी तथा फलफूलका भाइरसमुक्त नयाँ बिरुवा उत्पादन गर्न प्रयोगशाला स्थापना गरिएको हो । पछिल्लो समय कृषि, जडीबुटीमा शुद्ध तथा भाइरसमुक्त विरुवा पाउन मुस्किल रहेकाले प्रयोगशाला स्थापना गरिएको अध्यक्ष गुरुङको भनाइ छ । टिस्यु कल्चरमा कुनै पनि नयाँ बिरुवा उत्पादनका लागि सम्बन्धित बिरुवाको तन्तु, केषिका आदिबाट नयाँ बिरुवा उत्पादन गरिन्छ ।