झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

झारफुकमा संलग्न माता भनिने उमा शाही ठकुरी पक्राउ, बालिकाको शरीरभरि नीलडाम त्रिशूलले रोपेका घाउ

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण
झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु

उपचारका नाममा माताले त्रिशूलले घोपेका घाउ र कुटपिटबाट बनेका नीलडाम

झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झारफुकमा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ ।रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक केन्द्रमा अचेत फेला परेकी थिइन् । त्यसलगत्तै उनलाई परिवारले उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो । मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठका अनुसार चिकित्सकले चार घन्टाअघि नै रोशनीको मृत्यु भएको बताएका थिए ।

‘भान्जी बेहोस भएको खबर पाउनासाथ बहिनी (रोशनीकी आमा)सहित परिवारका सदस्य शनिबार माताकहाँ पुगे । बेहोस अवस्थामा भेटिएकी भान्जीलाई उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए,’ धनबहादुरले नयाँ पत्रिकासँग भने ।धनबहादुरका अनुसार मृतक रोशनीको शरीरभरि नीलडाम छ । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम छन् । ‘भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन्,’ उनले भने ।

प्रहरीले पनि बालिकाको ढाड, खुट्टा र पिँडुलामा घाउ भएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने बताए । ‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ,’ उनले भने ।

मामा धनबहादुरका अनुसार रोशनी भक्तपुरको धुन्चेपाखास्थित गणेश सेकेन्डरी माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । उनको टाउको दुख्ने समस्या थियो । वेलावेला टाउको दुख्ने भएपछि परिवारका सदस्यले उनलाई उपचारका लागि विभिन्न अस्पताल लगेका थिए । तर, चेकजाँचका क्रममा केही देखिएको थिएन । यही क्रममा रोशनीकी आमा राधिकाले टाउको दुखेको झारफुकबाट निको हुने छिमेकबाट सल्लाह पाइन् । खोज्दै जानेक्रममा बालाजुको रानीवनस्थित माता भनिने उमाको झारफुक केन्द्र पुगिन् । उनले आफ्नो समस्या राखिन् । माताले सबै समस्या झारफुकबाट निको पार्ने आश्वासन दिइन् । ३ पुसमा छोरी रोशनी लिएर राधिका माताकहाँ पुगिन् । झारफुकपछि आमाछोरी घर फर्किए । पुनः आउन माताले भनेपछि उनीहरू फेरि केन्द्र पुगे ।

करिब दुई सातासम्म माताकहाँ आउने–जाने क्रम चलिरह्यो । यही क्रममा माताले छोरीलाई केन्द्रमै छाडिदिन भनिन् । निकै कर गरेपछि एक साताअघि राधिकाले छोरीलाई माताकहाँ छाडिन् । आमा–छोरीबीच बिहीबारसम्म दोहोरो कुराकानी चलिरहेको थियो । यही क्रममा शनिबार बिहान माताकहाँबाट राधिकालाई फोन आयो । ‘छोरी बोल्न छाडिन्, तुरुन्तै आउनुपर्‍यो’ भनेपछि रोशनीकी आमा परिवारका अन्य सदस्यसहित ट्याक्सी चढेर माताकहाँ पुगिन् ।

तर, छोरीलाई उनले केन्द्रमा देखिनन् । माता टहरामै थिइन् । उनीसँगै अन्य सहयोगी पनि थिए । ‘छोरी खोइ’ भन्दा कोही पनि बोलेनन् । निकै जोड गरेपछि मात्रै माताले ‘तिम्रो छोरी बोल्नै छाडिन्’ भन्दै अचेत अवस्थामा ढलेकी रोशनीलाई देखाइन् । परिवारले रोशनीलाई अस्पताल त लगे, तर उनको पहिले नै मृत्यु भइसकेको थियो ।

‘रोशनीका बुबा सात वर्षदेखि मलेसियामा छन् । अहिले सबै शोकमा डुबेका छन् । परिवार सम्हाल्नै मुस्किल भएको छ । हामीले केही सोच्नै सकेका छैनौँ,’ धनबहादुरले भने ।प्रहरीले घटनामा संलग्न उमाविरुद्ध कर्तव्य ज्यानको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ । थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ । घटनामा संलग्न अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

‘बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ’, काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले भने ।

मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठ भन्छन्–शरीरभरि नीलडाम छ, त्रिशूलले घोपेका प्वाल छन्
भान्जी बेहोस भएको खबर पाउनासाथ परिवारका सदस्यसहित शनिबार माताकहाँ पुगेँ । छोरी खोइ भन्दा कोही पनि बोलेनन् । निकै जोड गरेपछि बेहोस भएको बताए । त्यसपछि छोरी देखाए । उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए । भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन् ।

झारफुकका क्रममा अत्यधिक कुटपिटबाट ज्यान गएजस्तो देखिन्छ
एसपी दिनेश मैनाली, प्रवक्ता, महानगरीय प्रहरी परिसर काठमाडौं

बालिका बेहोस अवस्थामा फेला परेको सूचना आएलगत्तै प्रहरी अनुसन्धानमा खटियो । उनको शरीरमा नीलडाम देखिन्छ । घटना हेर्दा झारफुककै क्रममा अत्यधिक कुटाइबाट उनको ज्यान गएको हो कि जस्तो देखिन्छ । शवको पोस्टमार्टम गर्न पठाएका छौँ । रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्छ ।

See More On

सुझावित समाचार