बागमती प्रदेशमा ट्याक्सी भाडा २५ प्रतिशतले वृद्धि

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

माघदेखि कार्यान्वयन गर्ने गरी एक किलोमिटरमा १० रुपैयाँ भाडा बढाउने निर्णय

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालित मिटर ट्याक्सीको भाडादर २५ दशमलव ४० प्रतिशतले वृद्धि गरेको छ । यससँगै अहिले एक किलोमिटरको ३९ रुपैयाँ रहेकोमा अब ४९ रुपैयाँ तिर्नुपर्ने भएको छ । बागमती सरकारले माघ १ देखि कार्यान्वयन हुने गरी भाडा वृद्धि गरेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ भाडादर तोकिएको हो । मन्त्रालयले २० पुसमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो । 

नयाँ भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो १ किलाेमिटर सम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरिएको छ । यसअनुसार अहिले सुरुमा ३९ रुपैयाँ र फ्लाग डाउन १४ रुपैयाँ गरी ५३ रुपैयाँ छ । त्यसलाई ६० रुपैयाँ पुर्याइएको छ । 

यसबाहेक सुरुको एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नाै रुपैयाँ ८० पैसाका दरले थप हुने गरी भाडादर कायम गरिएको छ । यसअनुसार दुई सय मिटरमा दुई रुपैयाँ ८० पैसाको दरले वृद्धि गरिएको छ । यसको अर्थ एक सय मिटर ट्याक्सी गुड्दा एक रुपैयाँ ४० पैसा भाडा लाग्ने भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्याक्सीतर्फका केन्द्रीय सदस्य अर्जुन मैनालीले अहिलेको भाडा वृद्धि न्यून रहेको र वैज्ञानिक भाडादरअनुसार नभएको प्रतिक्रिया दिए । प्रदेश सरकारले भाडा वृद्धिसँगै ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने सर्त राखेको छ । 

भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने
त्यस्तै, सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्नेबित्तिकै सवारीसाधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने भएको छ । 

यसबाहेक ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रूपमा सरसफाइ गरी लैंङिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने सार्वजनिक सूचना जारी गरेको छ । 
 

सुझावित समाचार