मर्दी हिमाल जाने पदमार्गमा स्की महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषले मर्दी हिमालको आधार शिविरमा २७ माघदेखि ३ फागुनसम्म महोत्सव आयोजना गर्न लागेको हो ।
ग्रेट हिमालयन स्की भ्रमण नाम दिएको यो महोत्सव आठौँ चरणको हो । यसअघि मनास्लु, कालिञ्चोकलगायतका स्थानमा संस्थाले महोत्सव गरिसकेको अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
महोत्सवअन्तर्गत पदयात्रा, आधारभूत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तत्र्रिmया तथा स्कीसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने उनले जानकारी दिए ।
संस्थाले ६ पटकसम्म लाङटाङ क्षेत्रमा स्कीसम्बन्धी तालिम गराइसकेको छ । यसैगरी धौलागिरी हिमालमा डाउनहिल स्की अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ ला भञ्ज्याङ, फ्रान्सको ब्यालेन्स हिमाल, गोसाइँकुण्ड, मेरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङलगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको थापाले जानकारी दिए ।
महोत्सवमा सबै क्षेत्रका मानिसले भाग लिन पाउने भए पनि आयोजकले पथप्रदर्शक, हिमाल आरोहण गाइड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरूको सहभागितालाई विशेष जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयजना लाभान्वित हुने विश्वास गरिएको छ ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले मर्दी हिमालमा हुने स्की महोत्सवले कोरोनाकालमा थलिएको पर्यटनलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले यो महोत्सवमा सहकार्य गर्न पाउनु नेपालको पर्वतारोहण पर्यटनमा नयाँ आयाम थपिने दाबीसमेत गरे ।
अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापामगरको प्रशिक्षण तथा सहजीकरणमा महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिए । महोत्सव सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (संघ), उद्योग, पर्यटन मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाइन क्लबलगायतका संस्था तथा मन्त्रालयले सहकार्य गरेका छन् ।