नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन तथा बन्दसत्रको चौथो दिनको कार्यक्रम बिहीबार बिहानबाट सुरु भएको छ। बन्दसत्र बिहान ११ बजेबाट सुरु भएको छ। अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्षमण्डलकी सदस्य पूर्णाकुमारी सुवेदीले बन्दसत्र सञ्चालन गरिरहेकी छिन्।
महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेज र विधानमाथि समूहगत छलफलको निष्कर्षहरू प्रस्तुत गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरूले प्रस्तुति राखेका छन्।
आजको बन्दसत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राखे। सल्लाहकारहरूको समूह (क) को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन्।
महाधिवेशनको बन्दसत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो। बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए। आज पाँचवटा समूहले प्रस्तुति राखिसकेका छन्। अब नाैवटा समूहको प्रस्तुति बाँकी छ।