पहिलोपटक संसद्को ‘अन्तर्राष्ट्रिय सम्बन्ध समिति’ पुगेका पर्यटनमन्त्री प्रेम आलेलाई समितिले चार वर्षयता मन्त्रालयलाई दिएका निर्देशनहरूको फाइल थमाएको छ । अहिलेसम्म समितिले पर्यटन मन्त्रालयलाई झन्डै सयवटा निर्देशन दिएको छ । मन्त्री आलेले निर्देशन हुबहु पालना गर्ने आश्वासन दिएका छन् । विषयगत मन्त्रालय भएकाले मंगलबार समितिले उनलाई बैठकमा स्वागत गर्नुका साथै निर्देशन हस्तान्तरण र विमानस्थलहरूबारे छलफलसमेत गरेको थियो ।
निर्देशनको फाइल बुझाउँदै समिति सभापति पवित्रा निरौला खरेलले निर्देशन कार्यान्वयनमा तदारुकता देखाउन आग्रह गरिन् । ‘अहिलेसम्म कार्यान्वयन नभएका निर्देशनलाई तदारुकताका साथ कार्यान्वयन गर्न अनुरोध गर्दछु,’ सभापति खरेलले भनिन् । समितिका निर्देशन कार्यान्वयन नभएको भन्दै बैठकमा सांसदहरूले असन्तुष्टि पोखेका थिए । निर्देशन बेवास्ता गरेर सरकारले संसद्कै अवहेलना गरेको एमाले सांसद मोहन बानियाँले आरोप लगाए । उनले भने, ‘समितिले छलफल गर्छ, निर्णय गर्छ, निर्देशन गर्छ । तर, सरकारले त्यसको पालना गर्दैन, यसमा घोर आपत्ति छ । निर्देशन कहाँ थन्किन्छन् ? मिनी पार्लियामेन्टको किन अवहेलना गरिन्छ ?’ समितिले गहन अध्ययन गरेर निर्देशन दिने हुनाले त्यसको अर्थ बुझ्न सरकारसँग बानियाँको आग्रह थियो ।
कांग्रेस सचेतकसमेत रहेकी समिति सदस्य पुष्पा भुसालले पनि समितिको महत्व बुझ्न र निर्देशनबारे मन्त्रालय र समितिबीच निरन्तर संवाद जरुरी रहेको बताइन् । ‘पर्यटन र परराष्ट्रजस्ता महŒवपूर्ण मन्त्रालय हेर्ने भएकाले यो समितिलाई महत्वका साथ लिनुपर्छ । हामी निर्देशन पठाउँछौँ, तर कार्यान्वयन भएको देखिँदैन,’ उनले भनिन्, ‘सुझाव, निर्देशन र समयको महŒव बुझ्नुप¥यो । कति कार्यान्वयन भयो, कति भएन, यसबारेमा अब दोहोरो छलफल गरौँ ।’
एमालेकै सांसद तथा समिति सदस्य प्रेमप्रसाद तुलाचनले त समितिका निर्देशन पाँच प्रतिशत पनि कार्यान्वयन नभएको गुनासो गरे । ‘समितिमा धेरै अध्ययन गरेर निर्देशनहरू दिएका छौँ । तर, पाँच प्रतिशत सुझाव–निर्देशन पनि कार्यान्वयन हुँदैन । निर्देशन कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास पनि छैन,’ उनले भने । कांग्रेसकै अर्का सांसद तथा समिति सदस्य दिव्यमणि राजभण्डारीले पनि निर्देशन कार्यान्वयन नभएकोबारे मन्त्री आलेको ध्यानाकर्षण गराए । कुनै पनि सरकारले निर्देशन कार्यान्वयन गरेका छैनन् । यसबारे मन्त्रीज्यूले ध्यान दिनुहोला,’ उनको भनाइ थियो । भण्डारीले नेपाल वायुसेवा निगमको प्लेन खरिदबारेका अध्ययन निर्देशन पालना नभएको बताए । ‘समितिहरूले प्रतिवेदन बनाएर सरकारलाई निर्देशन पनि दिएका थिए । त्यो कार्यान्वयन भएन । यो सरकारले यसमा के गर्दै छ ? विगतमा पनि मन्त्रालयले चासो दिएको देखिएन,’ उनले भने ।
सभापति खरेलले समितिका अध्ययनमा पर्ने मिहिनेत र लगानी सम्झाएकी थिइन् । आफूहरूले बारम्बार भन्दा पनि निर्देशन कार्यान्वयनमा सरकार उदासीन बनेको उनको भनाइ थियो । ‘राज्यको ठूलो लगानी भएको छ । मिहिनेत गरेर दिएका निर्देशन कार्यान्वयन भएका छैनन्,’ उनले भनेकी थिइन्, ‘हामीलाई आशा छ– अब निर्देशन लागू हुनेछन्, कार्यान्वयनमा आउनेछन् ।’ मन्त्री आलेले संसदीय समितिको निर्देशन हुबहु कार्यान्वयन हुने बताएका छन् । ‘विकास समिति र लेखा समितिमा रहँदा हामीले थुप्रै निर्देशन दियौँ । तर, कुनै पनि सुनुवाइ हुन्थेन । म प्रण गर्छु– तपाईंहरूले दिएको निर्देशन हुबहु लागू हुने गरी काम गर्छु । हामी समितिप्रति उत्तरदायी छौँ । हरेक निर्देशन कार्यान्वयन गर्छौँ,’ मन्त्री आलेले भने ।
पर्यटनमन्त्री प्रेम आलेले भने– म प्रण गर्छु, निर्देशन हुबहु लागू हुने गरी काम गर्छु
विगतमा म विकास समितिमा थिएँ । त्यसपछि लेखा समितिमा आएँ । दुवै समितिमा रहँदा हामीले थुप्रै निर्देशन दियौँ । तर, कुनै पनि सुनुवाइ हुन्थेन । म प्रण गर्छु– तपाईंहरूले दिएको निर्देशन हुबहु लागू हुने गरी काम गर्छु । हामी समितिप्रति उत्तरदायी छौँ । हरेक निर्देशन कार्यान्वयन गर्छौँ ।