रसुवामा १६ सय ३९ नयाँ मतदाता थपिए

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले अभियानस्वरूप  जिल्लाको चारवटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा एक हजार ६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । जसमा आठ सय ६५ जना पुरुष र सात सय ७४ जना महिला रहेको उनले बताए । 

जिल्लाको चारवटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणमअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङदाे गाउँपालिकामा दुई सय ४९ जना र नौकुण्ड  गाउँपालिकामा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् । 

त्यसैगरी, दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुस ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा चार सय ८० जना  र कालिका गाउँपालिकामा चार सय ९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियानस्वरूप अघि बढाइएको थिएन । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

रसुवामा २०७७ चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार जिल्लामा ३४ हजार आठ सय ५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

See More On

सुझावित समाचार