लमजुङको बेँसीसहरस्थित सहजी खेलमैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको २९औँ संस्करण सुरु भएको छ । २९ वर्षदेखि हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगितामा देशभरका १८ क्लबले भाग लिएका छन् । प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मछिरीङ शेर्पाले उद्घाटन गरेका छन् । सो अवसरमा शेर्पाले त्रवेणी युवा क्लब प्रतिभाशाली खेलाडी पहिचान गर्ने थलो बनेको र यसलाई राष्ट्रिय तथा अन्तरौष्ट्रियस्तरमा चिनाउनुपर्ने बताए । अध्यक्ष शेर्पाले आगामी वर्षको ३०औँ त्रिवेणीकपको प्रायोजक अखिल नेपाल फुटबल संघ बन्ने प्रतिबद्धता पनि जनाए ।
क्लबका अध्यक्ष विनोद गुरुङले गत वर्ष कोरोनाका कारण स्थगित भए पनि यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिइएको बताए । त्रिवेणीकपको विजेतालाई नगद पाँच लाखसहित स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने क्लबका उपाध्यक्ष एवं खेल संयोजक इन्द्र रानाले बताए । यस्तै, दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ ।
सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिनेछ । यस्तै, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा काठमाडाैं, पोखरा, चितवन, तनहँुलगायत जिल्लाबाट फुटबल टीम सहभागी भएका छन् । प्रतियोगिताको पहिलो दिन आयोजक त्रिवेणी युवा क्लब र नेपाली सेना श्रीजङ गणबीच भएको मैत्रीपूर्ण खेलमा ० का विरुद्ध ४ गोलले आयोजक त्रिवेणी युवा क्लब विजयी भएको छ ।