बैंकिङ कसुरमा एक युवक पक्राउ, ५६ लाख जरिवाना बुझाउन नसक्दा थप १० वर्ष कैद

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

बैकिङ कसुर मुद्दामा अदालतले सजाय र जरिवाना गरेको एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुरले २०७६ कात्तिक २१ मा बैकिङ कसुर मुद्दामा सिराहाको औरही गाउँपालिका–१ हरकट्टीका ३० वर्षीय सुरेन्द्रकुमार यादवलाई कसुरदार ठहर गरी सजाय र जरिवाना गरेको थियो । उच्च अदालतले जरिवाना र सजायको फैसला गरेपछि यादव फरार रहेका थिए । 

यादवलाई उच्च अदालत जनकपुरले सात दिन कैद र ५६ लाख ४९ हजार नौ सय ५१ रुपैयाँको जरिवानाको फैसला गरेको थियो । उच्च अदालतको आदेशपछि फरार रहेका यादवलाई प्रहरीले पक्राउ गरी शुक्रबार फैसला कार्यान्वनको क्रममा जिल्ला अदालत सिराहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जनाएका छन् ।

१० वर्ष थप कैद
जिल्ला अदालत सिरहाले ७ दिन कैद र जरिवाना रकम तिर्न नसक्दा फैसला कायान्वयनको क्रममा यादवलाई १० वर्ष थप कैद गर्न सिराहा कारागारलाई पत्राचार गरी कारागार चलान गरेको श्रेस्तेदार जगदिश भट्टराईले बताए । उच्चको फैसलाअनुसार जरिवाना तिर्न नसक्ने भएपछि थप १० वर्ष कैद गर्नु भनेर कारागारलाई पत्राचार गरिएको श्रेस्तेदार भट्टराईले बताए । कारागार चलान गरिएका यादवलाई २०८८ पुस १४ सम्म कैद राख्नुपर्ने अदालतले जनाएको छ ।

See More On

सुझावित समाचार