चाउरिएको अनुहार, फुलेको कपाल, उमेरले ७० वर्षीया कान्छीमाया तामाङ। नागरिकता बनाउनकै लागि दुई दिन लगाएर पहिलोपटक उनी जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगेकी हुन् । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु गरेपछि कान्छीमाया जस्तै उमेर पुगेर पनि नागरिकता नबनाएकाहरूको घुँइचो लागेको छ।
मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालय धादिङ आइपुगेको गंगाजमुना गाउँपालिका– १ रिचेतकी कान्छीमायाले बताइन्। २००८ सालमा जन्मिएकी उनी ७० वर्ष पार भए पनि अहिलेसम्म नागरिकता बनेको थिएन। उनले भनिन्, ‘अहिलेसम्म वृद्ध भत्ता, सरकारी अनुदानजस्ता कुनै सेवा लिएको छैन। मलाई लिन मन लाग्दैन। श्रीमानले पहिलेदेखि नागरिकता बनाउन कर गर्नुभएको थियो, तर बनाइनँ । अहिले त वडाध्यक्षलगायत सबैले भोट हाल्नुपर्छ। नाम टिपाउन नागरिकता चाहिन्छ भनेर बनाउन आएको हो,’ उनले बताइन्।
मतदाता नामावली दर्ता गर्न नागरिकता अनिवार्य भएपछि नागरिकता बनाउनेहरूको संख्या हिजोआज ह्वात्तै बढेको हो। उमेर पुगेर पनि नागरिकता नबनाएका उनीहरू मतदाता बन्नकै लागि घण्टौँ लाइनमा बसेर नागरिकता बनाइरहेका छन्। ज्वालामुखी गाउँपालिका– ३ धादिङकी अनिता मल्ल ठकुरी पनि नागरिकता बनाउने लाइनमै भेटिइन्। मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता बनाउन आएको उनको भनाइ छ।
निर्वाचन आयोगले आगामी प्रादेशिक र संसदीय चुनाव प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। भोट हाल्ने अधिकार सुनिश्चित गर्न अभिभावकहरू आफ्ना छोराछोरीहरूलाई नागरिकता बनाउन सदरमुकाम आइपुगेका छन्। भौगोलिक हिसाबले धादिङमा धेरै विकट तथा दुर्गम बस्ती छन् । जिल्लाको लापा, री, झार्लाङ, सेर्तुङ, तिप्लिङलगायतका दुर्गम क्षेत्रहरूबाट दुई दिनभन्दा बढी समय लगाएर नागरिकता बनाउनकै लागि जिल्ला प्रशासन कार्यालय आइपुगेका छन्। तर, नागरिकता बनाउन आइपुगेका उनीहरू लाइन बस्नुपर्ने र समय धेरै लाग्नेजस्ता समस्यामा परेको बताउँछन्।
अहिले नागरिकता बनाउन आउनेको संख्यामा अन्य समयमा भन्दा चौबर वृद्धि भएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। अन्य समयमा दिनमा सरदर ५० जनाले नागरिकता बनाउँथे। उनले भने– ‘हिजोआज दैनिक २०० जनाभन्दा बढीले नागरिकता बनाइरहेका छन् । राजनीतिक दल र नागरिक स्वयंको मतदाता बन्ने चाहनाले नागरिकता बनाउनेको भिड लागेको हो।’ कर्मचारी अभावका कारण अन्य शाखाका कर्मचारी र अन्य कार्यालयबाट कर्मचारी काजमा ल्याएरसमेत नागरिकता फाँटमा काम गरेको प्रजिअ लम्सालले बताए। स्थानीय सरकार, राजनीतिक दलहरूको अगुवाइमा नागरिकता बनाउन आउनेको भिड लागेको छ। यसलाई सकारात्मक तथा नकारात्मक दुवै किसिमले हेर्न सकिने उनले बताए।