नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि प्रदीप पौडेलले आफूले नजिते पनि आफ्नो पुस्ताको विजय भएको बताएका छन्। महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रम गर्दै उनले चुनावमा गएपछि हारजित स्वाभाविक भएको बताउँदै मित्रवत् प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको बताए।
‘हामीले सँगै पार्टीका कमजोरीमाथि प्रश्न उठाएका थियौँ। म पनि उत्तर दिने ठाउँमा जान चाहन्थेँ, तर म सफल हुन सकिनँ,’ उनले भने, ‘जो साथीहरू पुग्नुभएको छ। फेरि हिजोजस्तै नहोस्, नयाँ प्रश्न उठ्ने ठाउँ नहोस्। हाम्रो पुस्तामा धेरै आशा छ। कार्यशैली फरक होस्, पार्टीमा हामी आफैँ व्यवस्थित हुन सके मात्रै हामीले देशलाई व्यवस्थित गर्न सक्छौँ।’ आफ्नो पुस्ताका साथीहरू पार्टीको कार्यकारी भूमिकामा पुगेकोमा उनले खुसी व्यक्त गरे। अब पार्टीलाई अगाडि बढाउँदै आमनिर्वाचन जित्ने कुरा महत्वपूर्ण भएको उनले बताए।
चुनाव जित्न पार्टीमा एकता आवश्यक भएको उनले बताए। ‘आन्तरिक प्रतिस्पर्धाको विधि पनि बदल्नु आवश्यक छ। नीतिसहितको नेतृत्व आउने अवस्था हुनुपर्छ,’ उनले भने। आफूले १४औँ महाधिवेशनमा लडेको थिएँ भन्ने मनोविज्ञान बोकेर काम नगर्ने बताए। पार्टी निर्माणको एजेन्डामा नेतृत्वलाई सहयोग गर्ने उनले बताए।