एन्फा केन्द्रीय समितिको बैठक बोलाउन माग

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

तीन उपाध्यक्षसहित केन्द्रीय समितिका सात पदाधिकारीले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक बोलाउन माग गरेका छन् । उनीहरूले बिहीबार एन्फामा पत्र दर्ता गराएका  छन् । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षहरू कृष्णबहादुर थापा र वीरबहादुर खड्का तथा सदस्यहरू किरण राई, दिनेश व्यन्जनकार, निरोज खड्गी र दावा लामाले बैठक माग राखेका छन् ।

एन्फाले नौ महिनाभन्दा बढी समयसम्म  बैठक डाक्न नसकेका कारण नै पत्र दर्ता गराएको भनाइ छ । ‘अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न सकिरहेको छैन, जसले गर्दा फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपूर्ण विषयहरूमाथि छलफल हुन नसक्दा सिंगो फुटबल खेलको विकासमा गतिरोध देखापरेको र संघ सञ्चलनमा विधि, प्रक्रियाविहीन ढंगबाट सञ्चालन भइरहेको छ,’ पत्रमा भनिएको छ ।

‘आगामी २०७९ वैशाख महिनामा संघको साधारणसभा र निर्वाचन गर्नुपर्ने भएकोले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारणसभा र निर्वाचनसम्बन्धी कार्यतालिकालगायत फुटबल खेलको विकाससम्बन्धी जिल्ला लिग, प्रदेश लिग, ए, बी र सी डिभिजन लिग, राष्ट्रिय लिग सञ्चालनबारे छलफल गर्न आवश्यक देखिएको छ ।’  संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग उनीहरूले राखेका छन् । 

सुझावित समाचार