महोत्तरीको जलेश्वर अस्पतालको स्तोरन्नति गर्दै प्रादेशिक अस्पतालको रूपमा सञ्चालनमा ल्याउन लागिएको सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताएका छन्। आइतबार जलेश्वर अस्पताल अनुगमनका क्रममा मन्त्री साहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला अस्पतालका रूपमा रहेको सो अस्पताललाई प्रादेशिक अस्पताल बनाउन लागिएको बताएका हुन्।
वीर अस्पताल स्थापनाकै हाराहारीमा सञ्चालनमा आएको जलेश्वर अस्पताललाई प्रादेशिक अस्पताल नामांकन गर्दै सोहीअनुरूप ५० शय्यामा सञ्चालन गर्न मन्त्रिमण्डलमा प्रस्ताव लग्ने तयारी भैरहेको उनले बताए। उनले तत्काल कागजी प्रक्रियाहरू भैरहेको भन्दै चाँडै यहाँका जनताले प्रादेशिक अस्पतालमा पाउने सबै उपचार र सुविधा पाउनेमा आश्वस्त पारे। उनले अस्पतालसँग भौतिक संरचना पर्याप्त रहेको बताउँदै यहाँ जनशक्ति थप्नुपर्ने बताए। उनले एक महिनाभित्र मानव संसाधन परिपूर्ति गरिसक्ने दाबी गरे।
जनकपुरस्थित तत्कालीन प्रादेशिक अस्पताल मधेस विज्ञान स्वास्थ्य प्रतिष्ठानमा परिणत भएपछि हरेक प्रदेशमा एक प्रादेशिक अस्पतालको अवधारणाअनुरूप उक्त प्रादेशिक अस्पताल जलेश्वर अस्पताललाई बनाउन लागिएको हो। जनकपुर पछि भौतिक संरचना र उपलब्ध साधनस्रोतलगायतका विभिन्न मापदण्डका आधारमा जलेश्वर अस्पताल नै प्रादेशिक अस्पतालको लागि उत्तम विकल्प भएको अस्पतालका अध्यक्ष सुरेश पाण्डेले बताए। कोरोना कालमा समेत जलेश्वर अस्पतालले कोभिड अस्पतालसँगै ओपिडी र अन्य सेवासमेत सुचारु गरेको थियो। सोही कारणले नै प्रदेश सरकारको मूल्यांकनमा जलेश्वर अस्पतालले प्राथमिकता पाएको हुन सक्ने पाण्डेले बताए।
१० वर्षभन्दा बढी समयदेखि जलेश्वर अस्तपाललाई ५० शय्याको बनाउने भनिए पनि राजनीतिक उतारचढावका कारण हुन सकेको थिएन। प्रदेशका मन्त्रीले नै अस्पताललाई अन्ततः प्रादेशिक अस्पताल बनाउन लागिएको भनेपछि स्थानीयहरूमा पुनः आशा जागेको छ। अस्पतालमा प्रयोगविहिन रहेका पाँच भेन्टिलेटरसमेत प्रादेशिक अस्पताल हुँदा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।