बाँकेका महिलाले पाँच वर्षमा २२ करोडका खसी बेचे

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

बाँकेका बाख्रापालक महिलाले पाँच वर्षमा २१ करोड ७५ लाख ७९ हजार रुपैयाँका खसी–बोका बिक्री गरेका छन् । पाँच वर्षअघि स्थापना भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघमा आबद्ध महिलाहरूले यो अवधिमा १८ हजार तीन सय २८ वटा खसी–बोका बिक्री गरेको संघका व्यावसायिक प्रबन्धक नवीनकुमार साहूले जानकारी दिए । १७ वटा सामाजिक महिला उद्यमी सहकारीमा आबद्ध पाँच सय ८३ वटा समूहका १३ हजार पाँच सय महिलाले पाँच लाख ३५ हजार किलोबराबरको खसी–बोका बिक्री गरेको उनले बताए । 

सहकारीमा आबद्ध महिलाले उत्पादन भएका खसी–बोका काठमाडौं, पोखरालगायत अन्य सहरमा बिक्री गर्ने गरेका छन् । अन्दाजका भरमा खसी बिक्री गर्ने महिलाले सहकारीको सदस्य भएपछि तौलका आधारमा बिक्री गर्न थालेका छन् । तौल गरेर बिक्री गर्न थालेपछि बाख्रापालक महिलाहरू ठगिनबाट जोगिएका छन् । उनीहरूले खसी–बोका बिक्री गरेर चार करोड ३५ लाख १५ हजार आठ सय ३२ रुपैयाँ बचत गरेको साहूले बताए ।

बाँकेको राप्तीसोनारी, बैजनाथ, खजुरा, कोहलपुर र जानकीका महिलाले व्यावसायिक रूपमा बाख्रापालन गरेका छन् । यी ठाउँका महिलाले दसैँ र तिहारमा मात्र एक करोड १८ लाख मूल्यका खसी–बोका बिक्री गरेको संघका अध्यक्ष वसन्ती सुनारले बताइन् । दसैँमा १३ सय खसी बिक्री गर्ने लक्ष्य लिइएको थियो । ‘यस वर्षको दसैँ र तिहारमा यहाँका महिलाले आठ सय १५ वटा खसी बिक्री गरेका छन्,’ उनले भनिन् ।

महिलाले उत्पादन गरेका खसी–बोका २५ देखि ६५ किलो तौलका छन् । प्रतिकिलो पाँच सय १० देखि पाँच सय ४० रुपैयाँमा संघले नै खसी खरिद गरिदिने गरेको उनले जानकारी दिइन् । ‘हामीले सदस्य महिलासँग खरिद गरी प्रतिकिलो १५ रुपैयाँ नाफा खाएर बजारमा बिक्री गर्छौँ,’ व्यवस्थापक साहूले भने । बाँकेमा पाँचदेखि ५० वटा बाख्रापालन गर्ने नौ हजार महिला किसान रहेको संघले जनाएको छ । सहकारीमा आबद्ध यी महिलाले मासिक बचत गर्ने र व्यवसायका लागि ऋण लिने गर्दै आएका छन् । 

See More On

सुझावित समाचार