पर्यटन मन्त्रालयले हरेक खर्चमा मितव्ययिता अपनाएको छ : मन्त्री आले

सोमबार, २० मंसिर, २०७८
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले नेतृत्व गरेको मन्त्रालयले हरेक खर्चमा मितव्ययिता अपनाएको दाबी गरेका छन् । 

सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दावी गरेका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘यो ध्वजावाहक जहाज भनेको यो नेपाली जनताले राजस्व तिरेर, कर तिरेर बनेको यो निगम हो । यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ । यो मन्त्रालयले हरेक खर्चमा पनि मितव्ययिता अपनाएको छ । हामी चाहान्छौँ कमभन्दा कम खर्चमा नेपाल ध्वजावाहक जहाज नाफामा होस् ।

अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनै पनि हालतमा माथि उठाउनुपर्ने बताए । 

मन्त्री आलेले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको उल्लेख गर्नुभयो । उनले आफू मन्त्रालयमातहतका सबै निकायको कमीकमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरे । 

सुझावित समाचार