दाङमा बाघको छालासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार बाघको टाउकोदेखि पुच्छरसम्मको ८ फिट २ इन्च लम्बाइ र १ फिट ८ इन्च चौडाइ भएको छालासहित दुईजनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ निवासी ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुल्सीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३१ वर्षीय महेन्द्र खड्का रहेका छन्। आइतबार राति ७ बजेतिर पक्राउ गरिएको भए पनि आज मात्रै उनीहरूलाई प्रहरीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।
उनीहरूलाई घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीले चलाएर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकलमा बाघको छाला ओसारीरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।