कांग्रेस प्रदेश अधिवेशन : मकवानपुरमा देउवा पक्ष बलियो

शनिबार, ४ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार मकवानपुरमा प्रदेश सभाका चारवटै क्षेत्रमा अधिवेशन भएको छ। मकवानपुरका चारैवटा प्रदेश सभा क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। देउवा इतरपक्षका उम्मेदवारहरू सामान्य भोट अन्तरले पराजित भएका हुन्। 

देउवानिकटका कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खडा गरेका आफू समर्थित उम्मेदवारहरू सुशान्तकुमार श्रेष्ठ, राजेश बानियाँ, रञ्जन कालाखेती र खड्ग गोपालीले प्रदेश क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।  

मकवानपुर प्रतिनिधिसभा– १ को प्रदेश सभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए। यो क्षेत्रमा उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर, सचिवमा भूमिनन्द गौतम, शंकर पराजुली, सहसचिवमा दीपक ढकाल र अमर रसाइली निर्विरोध चयन भएका हुन्।प्रतिनिधिसभा– १ को प्रदेश सभा ‘ख’ मा राजेश बानियाँको प्यानल नै विजयी भएको छ। सभापतिमा बानियाँले १७७ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरे। उपसभापतिमा विनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर विजयी भए। सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदीप कँडेलले १९२ मत ल्याएर विजयी भए। सहसचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर विजयी भए। 

यसैगरी, प्रतिनिधिसभा– २ को प्रदेश सभा ‘क’ को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन्। गोपालीले सभापतिका अर्का प्रतिस्पर्धी सुजन गोपालीलाई पराजित गरेका हुन्। उपसभापतिमा ईश्वरी शाही ठकुरी र रञ्जन कठायत विजयी भएका छन्। सचिवमा नरहरि गोपाली र राजेशबाबु सापकोटा विजयी हुँदा सहसचिवमा रामशरण गोपाली र समिता रसाइली विजयी भएको पार्टी प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। मकवानपुर प्रतिनिधिसभा–२ को प्रदेश सभा ‘ख’ मा सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन्। उनले देउवा इतरपक्षका रामकृष्ण प्रजालाई पराजित गरेका हुन्। मत परिणामअनुसार कालाखेतीले २९२ मत पाउँदा प्रजाले २२३ मत पाए। उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन्। सचिवमा नवराज पौडेल र कृष्ण योञ्जन विजयी हुँदा सहसचिवमा गोपीलाल थिङ र शालिकराम अधिकारी विजयी भएका हुन्। 

सुझावित समाचार